- पूर्णप्रसाद न्याैपाने / रविन श्रेष्ठ

ओखलढुंगा- ओखलढुंगामा रथयात्रा निकालिएको छ । नेवारी समुदायले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसर पारेर आज (शनिवार) जिल्ला सदरमुकाममा बिशाल रथयात्रा निकालेका हुन् । जनहित गुठी र पारस्पारीक सहयोगी गुठीले छुट्टा छुट्टै रथ निकालेका थिए । दुबै गुठीले आ–आफ्नो बजार क्षेत्रमा कलात्मक शैलिबाट रथको निर्माण गरि निकालिएको रथयात्राले सिद्धिचरण नगरका विभिन्न भागको परिक्रम गरेको थियो ।

जनहित गुठीले गणेश मन्दिर क्षेत्र र पारस्पारीक सहयोगी गुठीले रामबजार क्षेत्रमा सांस्कृतिक प्रस्तुती सहितका रथयात्रा गरेका हुन् ।
ओखलढुंगामा हरेक वर्ष लाखे निकालिन्छ । लाखे अन्तरगत रोपाइँ जात्रा, हिले जात्रा र रथयात्रा सहितका कार्यक्रमहरु हुने गरेको जनहित गुठीका पूर्व अध्यक्ष सुमन राजभण्डाले बताए । विगतका वर्षहरुमा नेवारी समुदायको पर्वका रुपमा मात्रै लिईने लाखे अहिले सबै जातिय समुदायको साझा पर्व र जात्राका रुपमा स्थापित हुँदै गएको उनको भनाई छ । ‘पहिले सबै कुराको अभाव हुन्थ्यो । सिमित स्रोत र साधनले काम चलाउनु प¥थ्यो ।’ उनले भने,‘अहिले त सबैकुरा पर्याप्त छ । नेवारी जातिको पर्व भनिएपनि सबैको उत्तिकै सहभागिता रहन्छ । धेरै रमाईलो हुन थाल्यो ।’ पुर्खाको योगदानलाई युवा जगतले रक्षा गर्दै संस्कृति संरक्षणमा युवाहरु जुटेको उनले बताए ।  

पारस्पारिक सहयोगी गुठी ले यसवर्ष खोटाङमा समेत पुगेर लाखे प्रस्तुत गरेको छ । जातिय संस्कारको संरक्षण र प्रचारप्रसार गर्दै दुई जिल्लाका नेवारी समुदायबिच भगिनी सम्बन्ध स्थापित गर्न खोटाङ पुगिएको पारस्पारिक सहयोगी गुठीका कोषाध्यक्ष बालकृष्ण श्रेष्ठले बताए । जिल्ला सदरमुकाममा निकालिएको रथयात्रामा देखिएको दर्शकको उत्साहजनक सहभागीताले संस्कृतिको जगेर्ना गर्न हौषला मिल्ने उनको भनाई छ ।

रथयात्रा हेर्न जिल्लाका गाउँ–गाउँ र छिमेकी जिल्ला सोलुखुम्बु, खोटाङ सहितका ठाँउका स्थानीय बाट देखि ओखलढुंगा सदरमुकाम आएका थिए ।
युवाहरुको सकृयता बढेसँगै नेवारी परम्परा संरक्षणमा सहयोग पुगेको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए । पछिल्लो केही वर्षयता अग्रजलाई सम्मान गर्दै युवाहरुले नै संस्कार धान्दैआएको उनको भनाई छ । सिद्धिचरण नगरपालिकाले स्थानीय जातजाती, भाषा,धर्म र परम्पराको जगेर्ना गर्न नीतिगत पहल गरिरहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।
श्रावण चर्तुदशीका दिनबाट सुरु भएको लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिन पारेर सकिन्छ । लाखे पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्ण जन्माष्टमीको जात्रा लगायतका बिभिन्न जात्राहरु हरेकवर्ष देखाउने चलन छ । यसवर्षको जात्रा शनिवारबाट सकिएको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen