- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख जयबहादुर श्रेष्ठले आफु विरुद्ध लगाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । जिल्ला समन्वय समिति मातहत रहेको राहत सामाग्रीमा अनियमितता भएको भन्दै उजुरी गर्ने प्रदेश सांसद मोहनकुमार खड्कालाई आरोप प्रमाणित गर्न चुनौती दिएका हुन् ।
बुधबार कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख श्रेष्ठले आफुखुसी राहत सामाग्री वितरण गरि अनियमितता गरेको भनि सांसदले प्रशासनमा दिएको उजुरी र त्यसैका आधारमा आएका समाचारले ध्यानाकर्षण भएको बताएका छन् । २०७४ साल माघ ११ गतेको जिल्ला दैविक प्रकोप उद्दार समितिको निर्णय र सोही अनुसार जिल्ला प्रशासन कार्यालयको चलानी नम्बर ११२३ को पत्र अनुसार जिससले निर्णय गरेर राहत समाग्री वितरण गरेको श्रेष्ठको दावी छ । ‘जिसस मातहतका त्रिपाल र कम्बल बाँड्नु भनेर डिडिआरसीको निर्णय अनुसार प्रशासनले पत्र पठायो । त्यहि पत्रका आधारमा हामीले सबै नगरपालिका र गाउँपालिकामा समानुपातिक हिसाबले सामान पठाएका छौं ।’ प्रमुख श्रेष्ठले भने,–‘केही व्यक्तिलाई पनि दिएका छौं तर दिईएका सामान सदुपयोग भए÷नभएको विषयमा चाँही अब अनुगमन हुन्छ ।’ जिससले दिएका तारजारी र राहत सामाग्रीका बारेमा जिससले आन्तरिक अनुगमन गरेर सार्वजनिक गर्ने प्रमुख श्रेष्ठले बताए । आफु विरुद्ध मुद्दा परिसकेकाले निश्पक्ष छानविन गर्न माग समेत गरेका छन् ।
स्थानीय सडक सुधार तथा जिविको पार्जन कार्यक्रम मातहतका सामाग्रीका बारेमा जानकारी नभएको जिससले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

तथ्य सार्वजनिक भएन
साविकको जिल्ला विकास समिति हालको जिल्ला समन्वय समिति मातहत रहेको करोडौं मूल्य पर्ने राहत रामाग्री र तारजाली जिससले मनपरी ढंगले बाँडेर अनियमितता गरेको भन्दै १ नम्बर प्रदेशका अर्थसमिति सभापति समेत रहेका सांसद मोहन खड्काले छानविनका प्रशासनमा उजुरी दिएका थिए ।


उक्त उजुरी र आरोपको खण्डन गरेपनि जिससले तथ्य सार्वजानिक गरेको छैन । पत्रकार सम्मेलनमा विभिन्न गाउँपालिका र नगरपालिकालाई सामान वितरण गरेको भनिएपनि कुन स्थानीय तह र कुन व्यक्तिले राहत कति मात्रामा सामान बुझेको भन्ने विवरण सार्वजनिक नगरेको हो । पत्रकारहरुले उक्त विवरण सार्वजनिक गर्न माग गरेपनि जिसस प्रमुख श्रेष्ठले त्यो अहिले सार्वजनिक गर्न नसकिने बताए । ‘कति सामान थियो र को कसले लगेका छन् भन्ने अहिले यकिन हामीसँग भएन । खोजेर पछि भनौंला ।’ श्रेष्ठले भने,–‘ढिलो चाँडो हामी सार्वजनिक गथ्र्यौ मुद्दा परेछ अब त छिट्टै सार्वजनिक गर्नुपर्छ होला तर हिउँद नलागी एक पटक अनुुगमन नगरि सबै कुरा भन्न सकिन्न होला ।’ कुनै निकायले छानविन गरे त्यसलाई आफुले सहयोग गर्ने पत्रकारलाई तत्काल विवरण दिन नसक्ने बताए ।
प्रदेश सांसद खड्काले जिल्ला समन्वय समिति विरुद्ध प्रशासनमा मुद्दा दिएका छन् । मुद्दामा जिल्लाको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढंगले बाँडिएको विषयमा छानविन गरी दोषि उपर कारबाहीको माग गरिएको छ ।
भूकम्प पीडितलाई दिएर बाँकी रहेको राहत सामाग्री र केही दातृ निकायले दिएको सामान जिससले केही समय अघि बाँडेको थियो ।
स्थानीय सरकारका प्रमुख र दलहरुसंग छलफल नगरी समन्वय समितिका पदाधिकारीहरुले मनोमानी ढंगले बाँडेर सकाएको भन्दै सत्तारुढ दल नेकपाले संस्थागत रुपमा आवाज उठाएको छ । ‘यो विपद्को बेलामा पीडितलाई दिन हुन्थ्यो सबै अँस्तिनै आफन्तलाई बाँडेर सकाएछन् त्यो फिर्ता गरेर जोखिममा भएकाहरुलाई पारदर्शी हिसाबले दिनुपर्छ भन्ने हाम्रो माग हो ।’ नेकपाका जिल्ला नेता नेत्रप्रसाद भटराईले भने । जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौं थान जाली र करिब ४० टन भन्दा बढी जाली बुन्न बाँकी तार अपादर्शी ढंगले समितिले बाडेको नेकपाको आरोप छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen