- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- रुम्जाटारलाई ‘स्मार्ट सिटी’ बनाईने भएको छ । १ नम्बर प्रदेश सरकारले ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ मा पर्ने रुम्जाटार क्षेत्रमा ‘स्मार्ट सिटी’ बनाउने भएको हो ।

प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङको पहलमा यसवर्षबाट रुम्जाटार ‘स्मार्ट सिटी’को काम सुरु हुने भएको छ । आफुले निर्वाचनमा गरेको बाचा अनुसार रुम्जाटारलाई आफ्नै कार्यकालमा ‘स्मार्ट सिटी’ बनाउने लक्ष्यका साथ काम भईरहेको सांसद गुरुङले जानकारी दिए ।

‘सेवा र सन्तुष्टिको खोजिमा जिल्लाबासीहरु बाहिरीने क्रम रोक्न मैले चुनाव बेला नै रुम्जाटारमा स्मार्ट सिटी बनाउँछु भनेको थिए ।’ सांसद गुरुङले भने,‘प्रदेश सरकारको प्रमुख योजनामा यो परिसकेको छ,रातो किताबमा परेर बजेट समेत छुट्याईसकेकाले सम्भव भए मेरो कार्यकाल भित्रै नभएपनि केही वर्षभित्र सम्पन्न गराउने गरि काम सुरु भईसकेको छ ।’ अब तत्काल ‘स्मार्ट सिटी’को डिपिआर बनाउन थालिने सांसद गुरुङले बताए । विज्ञहरुद्धारा सम्भाव्यता अध्ययान सहितका काम सकिएको छ ।

डिपिआरका लागि एक करोड विनियोजन

रुम्जाटारमा बन्ने ‘स्मार्ट सिटी’ को डिपिआर बनाउन प्रदेश सरकारले १ करोड रकम विनियोजन गरेको छ । १ नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षमा ‘स्मार्ट सिटी’को विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाउन १ करोड छुट्याएको हो ।

यसैवर्ष रुम्जाटारमा ‘स्मार्ट सिटी’ का आधारभुत आयोजना सुरु हुनेछन् । बजार व्यवस्थापन, ढल तथा सडक सुधार लगायतका काम गर्न प्रदेश सरकारले क्रमागत योजनामा राखेर बजेट विनियोजन गरेको प्रदेशको रातो किताबमा उल्लेख छ ।

स्थानीय उत्साहित

रुम्जाटार पूर्वि पहाडको एक समथर भूभाग भएको ठाँउ (टार) हो । गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार भेडाको उनबाट बनाईने राढी पाखीका लागि चर्चित मानिन्छ । पछिल्लो समय लाहुर जाने जागिर खाने र सुविधा सम्पन्न शहरमा बसोबास गर्नेहरु बढेपनि ‘स्मार्ट सिटी’ को अवधारणाले सबैलाई लोभ्याएको पूर्व गाविस अध्यक्ष सिताराम गुरुङले बताए । सुविधाको खोजिमा हिँडेकाहरु ‘स्मार्ट सिटी’ बने गाउँफर्कीने सम्भावना रहेको उनको भनाई छ । ‘शहरमा छारो र धुलोले बस्न गाह्रो छ तर पनि शिक्षा स्वास्थ्य र रोजगारीका कारण मानिसहरु शहर पस्न छाडेका छैनन् ।’ गुरुङले भने,‘साँच्चीकै स्मार्ट सिटीको अवधारण अनुसारको काम भए र सेवा सुविधा त्यहाँ भए स्वर्ग जस्तो हावापानी पाइने ठाँउमा जो पनि फर्कन्छ ।’ सम्भाव्यता अध्यानका लागि आएको विज्ञ सहितको सरकारी टोलिसँग स्थानीयले ‘स्मार्ट सिटी’ निर्माणका लागि सक्दो सहयोग गर्ने बताईसकेका छन् ।

मुख्यमन्त्री,उपप्रधान मन्त्री र राष्ट्रपतिको सम्बोधन : ‘स्मार्ट सिटीले पर्यटन प्रवद्र्धन गर्ने विश्वास’

रुम्जाटार ‘स्मार्ट सिटी’ का विषयमा प्रदेश सरकारका मुख्य मन्त्री शेरधन राई, संघिय सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र राष्ट्रपति विद्यादेवी भण्डारी समेतले सम्बोधन गरेका छन् ।
केही समय अघि सिद्धिचरण नगरमा बनाईएको स्रष्टापार्कलाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले रुम्जाटारमा बनाईने ‘स्मार्ट सिटी’ ले मुलुकको परिचय बदल्ने बताएकि थिईन् । ‘यहाँका सांसद ज्यूको पहलमा प्रदेश सरकारले रुम्जाटारमा बनाउने लागेको स्मार्ट सिटी यो जिल्लाको मात्रै होईन देशकै घुम्न लायक शहर बन्ने छ ।’ राष्ट्रपति भण्डारीले भनिन्–‘रुम्जाटार र यहाँ बन्ने आधुनिक शहर देखाएर मुलुकले देश विदेशका पर्यटक ल्याउन सक्छ ।’ जनचाहना र दिगो विकासलाई ख्याल गरेर ‘स्मार्ट सिटी’ बनाउने अभियानमा जुट्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई थियो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले रुम्जाटारमा ‘स्मार्ट सिटी’ बनाएर प्रदेश सरकारले सम्भावनाको खोजी गरेको बताए । ओखलढुंगा महोत्सवको उद्घाटन गर्दै पोखरेलले भनेका थिए, ‘मुलुकका तीन वटै तहका सरकार नयाँ काम गरेर समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियामा छन् । नविनतम् कामहरु भैरहेका छन् । त्यसैको एउटा उदाहरण हो यो ।’ संघ सरकारले समेत पर्यटन प्रवद्र्धनका माध्यमबाट मुलुक समृद्ध बनाउने लक्ष्य लिएको उनको भनाई थियो । उपप्रधानमन्त्री पोखरेलले आफ्नो जन्मभूमी समेत भएकाले ओखलढुंगाको विकासका योजनामा आफ्नो सहयोग रहने बताएका छन् ।

प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले रुम्जाटार ‘स्मार्ट सिटी’ निर्माणको योजना प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । त्यसका लागि आवश्यक बजेट क्रमागत रुपमा विनियोजन गर्ने लक्ष्य राखिएको मुख्यमन्त्री राईको भनाई छ । ‘शहर त उत्तिकै शहर छन् तर रुम्जाटार सम्भावना भएर पनि ओझेलमा परेको ठाँउ रहेछ सांसद अम्बिरबाबु गुरुङले सम्भाव्यता झल्काउनु भएपछि प्रदेश सरकारले यसलाई नमुना आधुनिक शहर बनाउने काम थालिसकेको छ ।’राईले भने,‘थालेको काम पुरा गर्ने दायित्व हाम्रो हुनेछ । हामी सकेसम्म छिटो र राम्रो काम गरेर नमुना प्रदर्शन गर्न चाहान्छौं ।’ प्रदेश सरकारले प्रदेशका सम्भावित ठाँउहरुमा एकिकृत नमुना बस्ति र ‘स्मार्ट सिटी’ निर्माणको अवधारणा ल्याएको उनको भनाई थियो ।
रुम्जाटारमा प्रदेश सरकारको सहयोग र स्थानीयको पहलमा प्रदेश नम्बर १ कै नमुना गुम्बा निर्माण भईसकेको छ । लामो समय ठप्प रहेको रुम्जाटार विमान स्थलमा गत महिना देखी नियमित उडान भईरहेको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen