- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगामा प्रदेश सांसदले जिल्ला समन्वय समिति विरुद्ध मुद्दा दिएका छन् । प्रदेश नम्बर १ का अर्थ समितिका सभापति समेत रहेका सांसद मोहन कुमार खड्काले ओखलढुंगा जिल्ला समन्वय समितिका सभापति जयबहादुर श्रेष्ठ विरुद्ध राहत सामाग्रीमा अनियमितता गरेको भन्दै उजुरी दिएका हुन् ।

जिसस प्रमुख विरुद्ध सत्तारुढ दल नेकपाको लेटरप्याडमा मुद्दा लेखेर सांसद खड्काले जिल्ला प्रशासनमा बुझाएका छन् । सांसद खड्का नेकपा ओखलढुंगाका पनि अध्यक्ष हुन् । भूकम्प पीडितलाई वितरण गरेर बाँकी रहेको करोडौं मुल्यको राहत सामाग्री जिससले मनपरी ढंगले वितरण गरेर दुरुपयोग गरेकाले छानविन गर्न प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको सांसद खड्काले बताए । नेकपाको १६ गते बसेको सचिवालय बैठकमा जिसस मातहतमा रहेको राहत सामाग्री समन्वय प्रमुख जयबहादुर श्रेष्ठ सहित जिससका अन्य जनप्रतिनिधि र कर्मचारीले आफन्तलाई बाँडेको विषयमा छलफल भएको थियो । जिसस प्रमुख श्रेष्ठले आफु आवद्ध दल नेपाली कांग्रेसले जितेका स्थानीय तह र निकटका व्यक्तिलाई मात्रै करोडौंको राहत सामाग्री आफुखुसी वितरण गरेको भन्दै छानविनका लागि उजुरी गरेको नेकपा ओखलढुंगाले जनाएको छ । उजुरीमा जिल्लाको विभिन्न ठाँउमा रहेको भण्डारण कक्षबाट त्रिपाल र तारजाली मनोमानी ढंगले बाँडिएको विषयमा छानविन गरी दोषि उपर कारबाहीको माग गरिएको छ ।

भूकम्पपछि सगरमाथा जनता माध्यमिक विद्यालयको कक्षा कोठामा मौज्दात रहेको करिब आठ हजार थान त्रिपाल र समन्वय कार्यालय परिसर र रुम्जाटारमा रहेको ठुलो परिमाणको तारजाली जिससले मनोमानी ढंगले बाँढेको नेकपाले दावी छ । तत्कालिन सबै राजनितिक दलहरुको सहभागितामा सगरमाथा जनता माध्यमिक विद्यालयको एउटा कक्षा कोठामा आठ हजार थान भन्दा बढि त्रिपाल र कम्बल राखिएकोमा अहिले एक थान पनि नरहेको तत्कालिन विपद् व्यवस्थापन समितिका सदस्य तथा नेकपा सचिवालय सदस्य नेत्रप्रसाद भट्टराईले बताए । स्थानीय सरकारका प्रमुख र दलहरुसंग छलफल नगरी समन्वय समितीका पदाधिकारीहरुले मनोमानी ढंगले बाडेर सकाएको भट्टराईको भनाई छ । ‘यो विपद्को बेलामा पीडितलाई दिन हुनथ्यो सबै अँस्तिनै आफन्तलाई बाँडेर सकाएछन् त्यो फिर्ता गरेर जोखिममा भएकाहरुलाई पारदर्शी हिसाबले दिनुपर्छ ।’ भटराईले भने ।
यस्तै स्थानिय सडक सहयोग कार्यक्रम (एलआईआरपी) र स्विस सरकार विकास नियोग (एसडीसी) ले समितिलाई जिम्मा लगाएको हजारौं थान जालीको विषयमा पनि नेकपाले चासो देखाएको छ ।
जिल्ला समन्वय समितिको कार्यालय परिसरमा भण्डारण गरिएको हजारौं थान जाली र करिब ४० टन भन्दा बढी जाली बुन्न बाँकी तार अपादर्शी ढंगले समितीले बाडेको सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताए । स्थानिय तहहरुलाई सहभागी नगराई एकलौटी ढंगले समन्वय समिति प्रमुखले कांग्रेस कार्यकर्ताहरुलाई तारजाली बाढिएको श्रेष्ठको आरोप छ । समन्वय समितीले बाढेको तारजालिको सदुपयोग भन्दा बढी दरुपयोग भएको मेयर श्रेष्ठको दावी छ ।
यस विषयमा जिल्ला समन्वय समितिका सभापती जयबहादुर श्रेष्ठले यो विषय ठुलो भएकाले छोटोमा भनेर नसकिने बताए । ‘म अहिले जिल्ला बाहिर छु । फोेनमा के भन्नु, यसको कथा लामो छ ।’ जिसस प्रमुख श्रेष्ठले भने,‘सदरमुकाम आएपछि नै विस्तृतमा भनौंला ।’
समन्वय समितिले गत हिउँदमा राहत सामाग्री बाँढेको थियो । बिहान बेलुकाको समयमा ट्याक्टरमा लोड गरेर तारजाली सहितका सामानहरु सदरमुकाम बाहिर पठाईएका थिए ।
विपद्को समयमा जिल्लामा राहत सामाग्री अभाव भएपछि जिसस मातहतमा रहेको सामाग्रीको खोजी भएको हो ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen