- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  ओखलढुंगामा पुष्पलाल विपद् कोष स्थापना गरिएको छ । प्रकोपमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४१ औं स्मृति दिवसका अवसरमा कोष स्थापना गरिएको हो ।
नेकपा पार्टी कार्यालयमा भएको ४१ औं पुष्पलाल स्मृति दिवसमा सांसद यज्ञराज सुनुवारले उक्त कोषको घोषणा गरेका हुन् ।

‘पार्टीका संस्थापक नेता पुष्पलालले त्यो बेला देखेको सपना अहिले पुरा भईरहेको छ । हामीले अझ सिर्जनशिल बनेर समृद्धिको यात्रामा अघि बढ्ने प्रयत्न गरिरहेका छौं ।’ नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेका सांसद सुनुवारले भने,‘विपद्मा परेकाहरुलाई सहयोग गर्ने लक्ष्यका साथ पुष्पलाल विपद् कोष स्थापना भएको घोषणा गर्दछु ।’ कोषमा जम्मा भएको रकम जिल्लामा विपद्मा परेका नागरिकलाई राहत स्वरुप सहयोग गरिने उनको भनाई छ । पुष्पलाल विपद् कोषको राष्ट्रिय बाणिज्य बैंकमा रहेको खाता नम्बर २०७०००४४९१०१ मा इच्छुक व्यक्ति र संस्थाले रकम जम्मा गर्न सक्ने पुष्पलाल प्रतिस्ठानका अध्यक्ष समेत रहनुभएका सांसद सुनुवारले बताए । ‘विपद् बाजा बजाएर आउँदैन तर विनास गरेर जान्छ त्यो बेला हामीले तत्काल कोषमा भएको रकमबाट पीडितहरुलाई सहयोग गर्न सक्छौं ।’ उनले भने,‘व्यक्ति–व्यक्तिले यथासक्य सहयोग गर्नेकुरा छँदैन अझ संस्थागत रुपमा दिर्घकालिन योजना बनाएर गयो भने पुस्तौं–पुस्ता सम्मलाई होलाकी भनेर कोष स्थापना गरिएको हो ।’ विपद्मा परेका जो कोहीले कोषबाट राहत लिन सक्ने छन् ।

कोष स्थापना भएकै दिन नेकपाका विभिन्न तहका नेता कार्यकर्ताबाट ८५ हजार रकम कोषमा जम्मा भएको पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष नेत्र भटराईले जानकारी दिए । विपद्मा परेकाहरुलाई सहयोग गर्न राजधानीमा सम्पर्क मञ्चका अध्यक्ष चन्द्र राईको नेतृत्वमा ८६ हजार र जिल्लामा नेकपाका नेता कार्यकर्ताको सकृयतामा करिब २ लाख ४० हजार रकम संकलन हुनेक्रममा छ । ‘सबैले बोलेको जोड्दा २ लाख ४० हजार हुन जान्छ तर भौगोलिक कारण टाढा हुने साथीहरुको पैसा आईसकेको छैन । १–२ दिनमा कोषमा जम्मा हुन्छ ।’ भटराईले भने । आगलागी, बाढी, पहिरो, महामारी लगायतका विपद्मा परेकाहरुलाई स्थानीय सरकार र नेकपाको तल्लो कमिटिको सिफारीसका आधारमा पुष्पलाल विपद् कोषबाट राहत रकम प्रदान गरिने छ ।

प्रकोप पीडितलाई पच्चिस हजारका दरले राहत सहयोग

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४१ औं स्मृति दिवसका अवसरमा प्रकोप पीडितलाई राहत वितरण गरिएको छ । दिवसको अवसर पारेर नेकपा ओखलढुंगाले जिल्लामा बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारलाई प्रति मृतक २५ हजारका दरले आर्थिक सहयोग गरेको हो ।

केही दिन अघिको अभिरल वर्षापछिको बाढी पहिरोमा परेर जिल्लामा ५ जनाको ज्यान मृत्यु भएको थियो । पहिरोमा ज्यानगुमाउने मोलुङ गाउँपालिका–७ पात्लेका खपुटी शेर्पा र १० वर्षीया याङ्जी शेर्पा, सिद्धिचरण नगरपालिका–६ जन्तरखानीकी कान्छीमाया श्रेष्ठ, चिशंखुगढी गाउँपालिका ४ की ८५ वर्षीय पासाङकुटी शेर्पा र शुनकोसी गाउँपालिका ४ चिउरीबोटका ५५ वर्षीय कुमार राईका परिवारलाई नेकपाका तर्फबाट सांसद यज्ञराज सुनुवारले प्रति मृतक २५ हजारका दरले रकम हस्तान्तरण गरेका हुन् । त्यस्तै भुकम्प र पहिराले घर जोखिममा पारेपछि कटेरामा बस्दै आएका मोलुङ गाउँपालिका १ कुन्तादेवीका रत्नप्रसाद धमलालाई ५ हजार राहत दिईएको नेकपा ओखढुंगाले जनाएको छ ।

ओखलढुंगामा बाढी पहिरोमा ज्यान गुमाउनेका परिवारले यसअघि जिल्ला विपद् व्यवस्थापन समितिले १ लाख, पूर्वसांसद रामहरि खतिवडाले १० हजार र उद्योग वाणिज्य संघले ३ हजारका दरले राहत सहयोग पाईसकेका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई सांसद सुनुवार, चिशंखुगढीका अध्यक्ष निशान्त शर्मा सहितले सम्बोधन गरेका थिए ।

पुष्पलाल : मार्क्सवादका नेपाली सूत्रधार

unn.prixa.net

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गर्नुभएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लड्नुभयो । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन विस्तारमा लाग्नुभयो । उहाँले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गर्नुभयो ।

पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुनुहुन्छ । पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उहाँ पहिलो नेता हुनुहुन्छ । स्मृति दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले मंगलबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको उपस्थिति रहनेछ ।

नेकपा स्थापना गर्दा पुष्पलालले घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो । यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो ।

नेकपाको स्थापना कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । कम्युनिष्ट घोषणापत्रको नेपाली रूपान्तरण गर्दै पुष्पलालले ‘केही कुरा’ शीर्षक दिएर लेख्नुभएको थियो । घोषणापत्रमा उहाँले भन्नुभएको छ, ‘विश्व मजदूर आन्दोलनलाई सही बाटो देखाउने शक्ति र साहस प्रदान गर्ने उक्त घोषणापत्रलाई नेपाली भाषामा प्रकाशित गरी नेपाली मजदूर वर्गको आन्दोलनलाई सही बाटोमा लैजान अत्यन्त आवश्यक भएको हुनाले मैले यस घोषणापत्रलाई यथासक्य परिश्रम गरी नेपाली भाषामा उल्था गरी नेपालको सम्मान राखेको छु ।’

यसलाई नेपाली मार्क्सवादीले  मार्क्सवादी चेतना र साहित्यको थालनीका रुपमा समेत अर्थ्याएका छन् । दाजु गंगालाको हत्या पश्चात् राणाशाहीको जरो काट्ने प्रण पुष्पलालले गर्नुभएको थियो । त्यतिखेर उहाँ १५ वर्षका किशोर हुनुहुन्थ्यो । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उहाँको जन्म भएको थियो । पिता भक्तलाल रामेछापमा मालका सुब्बा हुनुहुन्थ्यो, पछि छोराका कारणले जागिर खोसिएको थियो ।

निरंकुशता विरोधी, श्रमजीवी वर्गप्रति झुकाव उदार प्रजातन्त्रवादी, सिद्धान्तनिष्ठ, सरल तथा मिलनसार व्यक्तित्वका धनी पुष्पलाल राजनीतिज्ञ मात्रै हुनुहुन्थेन इतिहास, समाजशास्त्र, मानव शास्त्रका विषयमा समेत गहिरो ज्ञान राख्नुहुन्थ्यो । बहुआयामिक प्रतिभा पुष्पलालको परराष्ट्र मामलामा समेत धेरै राम्रो सुझबुझयुक्त विचार रहेको बताइन्छ । उहाँ २०१७ सालको कदम पछाडि पनि भूमिगत निर्वासित जीवनमा नेपाल कम्युनिष्ट पार्टीलाई पुनः सङ्गठित गरी संयुक्त जनआन्दोलनको आवश्यकता र औँचित्य पुष्टि गर्न अहोरात्र लाग्नुभएको थियो ।

उहाँको विचार र दर्शनका आधारमा आज नेकपाले आर्थिक समृद्धिको नारासहित दुईतिहाई जनमत प्राप्त सरकारको नेतृत्व गरिरहेको छ ।  देश र जनताप्रति समर्पण राख्ने, सिद्धान्तनिष्ठ अनुशासित र संघर्षमा रमाउने पुष्पलालबाट कोरिएको नेकपाको मार्गचित्रबाट नयाँ नेपाल निर्माण हुने विश्वास लिइएको छ । सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । यस्तै पुष्पलाल मध्यपहाडी लोकमार्गसमेत निर्माण भइरहेको छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen