- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाका पहिरो प्रभावितलाई रेडक्रसले राहत दिएको छ । २०७२ को भूकम्पबाट घरमाथीको जमिन धाँजा फाटेसँगै पहिरोको डरले गाउँ छाडेका विस्थापित २० परिवारलाई नेपाल रेडक्रस सोसाईटी ओखलढुंगा शाखाले राहत सामाग्री सहयोग गरेको हो ।
जिल्लाको मोलुङ गाउँपालिका ३ साविक हर्कपुरको केराबारीका स्थानीय २० परिवार अहिले प्राप्चाको फुयल गाउँमा बस्दै आएका छन् । सुरक्षित बसोबासका लागि ठाँउ सरेकाहरुलाई लत्ताकपडा, भाँडाकुडा सहितको गैरखाद्य सामाग्रीको प्याकेज सहयोग गरिएको रेडक्रस जिल्ला सभापति सुमन राजभण्डारीले बताउनुभयो । प्याकेजमा बाल्टीन, जग, डाडु, पनिउँ, थाल, कचौरा सहितका भाँडा सेट र कम्बल, त्रिपाल लगायतका सामाग्री शुक्रबार हस्तान्तरण गरिएको छ ।
प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । राहत पाएपछि स्थानीय खुसी भएका छन् ।


विस्थापितलाई एकिकृत बस्तिमा राख्ने तयारी
पहिरोबाट विस्थापित भएकाहरुलाई एकैठाँउ संरचना निर्माण गरेर राख्ने तयारी थालिएको छ । नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर निर्माणका लागि केराबारीका १७ परिवारलाई नगद सहयोग गरेको छ । उक्त रकमबाट सबैका लागि एकै ठाँउमा घर बनाउनेकाम भईरहेको छ । प्रति परिवार २ लाखका दरले १७ मध्ये १२ जनाको खातामा प्राधिकरणले रकम निकासा दिईसकेको छ ।
संसदीय छानविन टोलीको स्थलगत अवलोकन पछि भूकम्पले धाँजा फाटेको क्षेत्रलाई जोखिमयुक्त क्षेत्र घोषणा गरिएको थियो । ओखलढुंगाको केराबारी, केउरीनी, भँडारे र माम्खा सहितका बस्तिलाई जोखिमयुक्त भनिएको छ । जोखिमयुक्त भनिएका क्षेत्रका अधिकांश स्थानीयले गाउँ छाडेका छन् ।
पहिरोबाट विस्थापित सबै परिवारलाई एकिकृत बस्तीमा राखिने सांसद यज्ञराज सुनुवारले बताउनुभयो । एकिकृत बस्तिलाई नमुनाका रुपमा विकास गर्ने उहाँको भनाई छ । विस्थापितहरुलाई गाउँमै पुगेर सम्बोधन गर्दै सांसद सुनुवारले प्रकोपको मारमा परेकाहरुको राहत र व्यवस्थापनका लागि आफुले सक्दो पहल गर्ने बचन दिनुभएकाे छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen