- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- प्रदेश नं १ का १४ जिल्लामा ‘म अघि बढ्छु’ अभियान सुरु भएको छ । प्रदेशका १४ वटै जिल्लामा १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले मंगलबारदेखि ‘म अघि बढ्छु’ नामक अभियान शुरु गरिएको हो ।
प्रदेशका मख्यमन्त्री, मन्त्री, सांसद र कतिपय जिल्लामा नगरपालिकाका प्रमुखहरुले मंगलबार उक्त अभियानको शुभारम्भ गरेका छन् । ओखलढुंगामा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले अभियान शुभारम्भ भएको घोषणा गरेका छन् ।


प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने यो कार्यक्रम प्रदेश नं १ सरकारले सञ्चालन गर्ने बृहत् कार्यक्रम मानिएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ भन्ने अभियान चालू आर्थिक वर्षमै ‘ड्रिम प्रोजेक्ट’का रुपमा शुरु हुने बताउँदै आएका थिए । दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्न किशोरावस्थामै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले सबै जिल्लामा अभियान शुभारम्भ गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका ‘म अघि बढ्छु’ कार्यक्रम संयोजक नवराज राईले बताए । ‘प्रदेशभरि अभियान थालिएको छ । विद्यालय विद्यालय मार्फत घरघरमा अभियान पुग्नेछ’ संयोजक राईले भने । सगरमाथा टिन्स क्लब (एसटीसी) सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७६ लागू गरेर सबै जिल्लामा क्लब मार्फत कार्यक्रम सञ्चालन गरेको राईले जानकारी दिए ।

अभियानअन्तर्गत सबै विद्यालयमा १५ सदस्यीय ‘सगरमाथा टिन्स क्लव (एसटीसी)’ गठन गरिने कार्यविधिमा उल्लेख छ भने लक्षित उमेर र कक्षाका सबै छात्रछात्रा अनिवार्य सदस्य बन्नेछन् । क्लबमार्फत विद्यार्थीलाई साताको एक दिन नैतिक शिक्षा, देशभक्ति, स्वयंसेवा, विपत् व्यवस्थापन, सकारात्मक चिन्तनसहितका विभिन्न विषयमा पठनपाठन गराइने छ । पढाउनका लागि हरेक विद्यालयमा एक जना शिक्षकलाई ‘शिक्षक नायक’को जिम्मेवारी दिइने भएको छ ।
प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक तथा अनुगमन समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति र स्थानीय तहमा नगरपालिका प्रमुख वा गाउँपालिका अध्यक्षको संयोजकत्वमा १८ सदस्यीय स्थानीय तहस्तरीय समन्वय तथा सहजीकरण समिति गठन गर्ने व्यवस्था रहेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । उनका अनुसार हरेक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा सात सदस्यीय विद्यालय तहको कार्यक्रम कार्यान्वयन समिति गठन गरिने र विभिन्न विषयका विज्ञ एवं सेलिब्रेटीलाई ल्याएर विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन गरिने छ ।
विद्यालयमा आधारित सचेतना र जागरणमूलक यो कार्यक्रमले विद्यार्थीलाई असल मार्गमा अघि बढ्न अभिप्रेरित गर्ने अपेक्षा गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले बताए । प्रदेश सरकारले सुरु गरेको अभियानमा हात्तेमालो गर्न प्रमुख श्रेष्ठले सबैलाई आवहन गरेका छन् ।
‘आजका किशोर किशोरी भोलिका कर्णधार,यिनीहरुको सक्षमता नै समृद्धिको आधार’ भन्ने मुल नाराका साथ सुरु भएको यो अभियानले अपराध न्यूनिकरणमा टेवा पुग्ने ओखलढुंगाका प्रहरी प्रमुख पुष्पराज मल्लको भनाई छ । ‘कुलतमा फस्ने र बिग्रने उमेर भनेकै यहि हो । त्यसैले विद्यार्थी लक्षित यो कार्यक्रमले अपराध न्यूनिकरणमा भूमिका खेल्छ ।’मल्लले भने ।
मंगलबारबाट प्रदेशका सबै जिल्लामा सुरु भएको ‘म अघि बढ्छु’ कार्यक्रम सबै विद्यालयमा पु¥याईने मुख्य प्रशिक्षक अभिनन्दन गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen