- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- लिब्जुलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकामा पर्ने चर्चित धार्मीक स्थलका रुपमा रहेको लिब्जु क्षेत्रलाई पर्यटकको रोजाईमा पार्न पूर्वाधार निर्माणको काम थालिएको हो ।

पूर्वाधार अभाव र प्रचारप्रसारका कारण ओझेलमा रहेको लिब्जुमा सिँढी सहितका संरचना निर्माणको काम थालिएको छ । प्रदेश सांसद मोहनकुमार खड्काको पूर्वाधार विकास कोषको ७ लाख बजेटबाट लिब्जुमा दुई सय वटा सिँढी बनाईएको छ । संघ सरकार मातहतको पर्यटन मन्त्रालयबाट प्राप्त ५ लाख बजेटबाट पनि पूर्वाधार निर्माणको काम भईरहेको मानेभञ्ज्याङ गाउँपालिका २ वाक्साका वडा अध्यक्ष उमेश कार्कीले बताए । लिब्जुलाई मानेभञ्ज्याङ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य सहित काम भईरहेको उनको भनाई छ । ‘लिब्जुमा पर्यटनको प्रचुर सम्भावना छ त्यसलाई चुम्ने प्रयास गरिरहेका छौं ।’ वडा अध्यक्ष कार्कीले भने,‘संघ, प्रदेश र स्थानीय सरकारको प्राथमिकतामा पारेर पर्यटन वर्षको एउटा महत्वपूर्ण गन्तव्य लिब्जु बनाउने उद्देश्य हो ।’ भक्तजनलाई सजिलो पार्न तलदेखी माथिसम्म सिँढी बनाउने योजना रहेको उनले सुनाए । वडाले लिब्जुको विकासका लागि पहल गर्न प्रत्येकवर्ष योजना अघि सार्दै आएको छ ।
पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसि जाने बाटो नजिकै लिब्जु पर्दछ । लिब्जु क्षेत्रलाई पूर्विपहाडको धार्मीक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने सांसद मोहन कुमार खड्काले बताए । ‘स्थानीय साथीहरुको सकृयता राम्रो छ, काम भईरहेकै छ । हामी बजेट अभाव हुन दिन्नौं ।’सांसद खड्काले भने,–‘हलेसी आउने हुन् वा सगरमाथा जाने उनिहरु एक पटक लिब्जु घुम्न आउने बनाउँछौं ।’ सांसद खड्काले लिब्जु, ककनी, सिद्धघाम,मालिङ्गे र पोकली सहितका क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि बजेट विनियोजन गरेका छन् ।
कहाँ छ लिब्जु ? के हो इतिहास ?
समुन्द्र सतहबाट करिब १ हजार ९ सय ५७ मिटरको उपचाईमा ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा । मानेभञ्ज्याङ गाउँपालिका भित्र उँबु, वाक्सा र केत्तुके गाउँको शिरमा अवस्थित लिब्जु डाँडाबाट तराईका फाँट र उत्तरमा विश्वको सर्वोच्च शिखर सगरमाथा देख्न सकिन्छ ।
घना जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुका देवता लिब्जु उपो रहेको धार्मीक विश्वास छ । स्थानीय वाम्बुले राईहरुले पितृ र प्रकृतिको पुजा गर्दा लिब्जु, भुम्जु र दिभुजुलाई दिदीबहिनी या दाजुभाइ देवताका रुपमा पुकार्ने गर्दछन् । भुम्जु दुधकोसी पारि खोटाङको डिकुवा, च्यास्मिटार र बाहुनीडाँडा ठाउँको शिरको अग्लो चुचुरो हो ।

सबैभन्दा ठूला देवता भने लिब्जुलाई नै मान्ने चलन छ । लिब्जुमा दर्शन गर्दा घरमा शान्ति मिल्ने, स्वस्थ हुने र इच्छाएका सबै कुरा पुरा हुने जनविश्वास छ । मन्दिरमा कुखुरा, मालेगोरु लगायत वैशाख पूर्णीमाको अवसर पारेर छाड्ने गरिन्छ । ‘परापूर्वकालमा लिब्जु पुजा माले गोरु काटेर गर्ने चलन थियो । तर, नेपाल एकीकरण र मुलुकलाई हिन्दुराष्ट्र घोषणापछि गाई, गोरु काट्न बन्देज लगाइयो । त्यसयता वाम्बुले राईहरुले माले गोरुलाई लिब्जुका नाममा छोड्ने र राँगा काटेर पूजा गर्ने चलन छ । मुन्धुम फलाक्ने बेलामा ‘माले गोरुले पूजा ग¥यौं है’ भनेर पुकार्ने गर्दछन् ।’
वाम्बुले राईहरुको महान चाड ढ्वाङ्कुम पुर्नेमा बर्खामा पाकेका मकै, अन्नबालीको जाँड, जिर्मा, विभिन्न परिकार आदि बनाई मूलदेवता लिब्जु र भुम्जुलाई चढाउने प्रचलन रहेको उँबुकी स्थानीय सांग्रीला राईले भनिन् । उनका अनुसार वाम्बुले राईहरूले पाकेका मकै, जाँड, जिर्मा आदि बनाई मूलदेवता लिब्जु र भुम्जुलाई पहिला चढाएर मात्रै खाने चलन छ ।
पानी नपरे लिब्जु पुकार्ने किंबदन्ती
स्थानीयले गाउँमा कुनै समस्या परे वा खडेरी लागे लिब्जुलाई पुकार्छन् । ‘केही समस्या आयो पर्ने लिब्जु उपो रिएरछन् भनेर सम्झन्छौं । लिब्जु प्रति हाम्रो विश्वास पनि छ ।’ वाक्साका लक्ष्मण राउतले भने,‘वाम्बुले राई जातीहरुले विशेष मान्ने गरेको लिब्जु उपो अहिले सबैले आफ्नो ठान्छन् । पानी परेन भने आकाश हेर्दै लिब्जु पुकार्ने अनौठो चलन पनि छ ।’ अन्य त्यस आसपासका क्षेत्री, तामाङ, मगर र दलित सहितका समुदायले पनि लिब्जुलाई मान्न थालेका छन् ।


किंवदन्ती अनुसार कुनै समय स्थानीय राईहरुले जंगलमा सिकारखेल्न जाँदा ढुक्न ठूलो रुख चुने । त्यसमा चढ्न पहिले अखटा काट्दा सुरु गर्दा त्यो रुखको भित्रबाट एक प्रकारको आवाज आयो–‘ए मेरो घुँडा काट्छौ है’ भनेर । त्यो कुरा वास्ता नगरी फेरि अर्को अखेटा काट्न सुरु गरे । फेरि आवाज आयो, ‘ए मेरो मुटु काट्छौ है’ भनेर । त्यसलाई पनि वास्तै नगरी तेस्रो अखेटा काट्न सुरु गरे । फेरी पनि ठूलो स्वरमा सुनियो ‘ए मेरो घाँटी काट्छौ है’ भनेर । यस्तो पटक–पटकका आवाजले रुख काट्नेहरु छक्क परे । त्यसपछि पहिलो पटक काटेको अखटामा गहिरो गरी काटे । रुखभित्र धोद्रो भेटियो । धोद्रोमा मान्छे उभिएको खुट्टा देखियो । पूरै रुख काटेर निकाल्दा एउटा बालक भेटियो । त्यो बालकलाई गाउँमा ल्याएर पालियो । एकदिन त्यहाँ अपरिचित बूढो मान्छे घुम्दै आए । उनले जंगलमा भेटिएका ति बालकलाई लिएर गए ।
त्यो बालकले गाउँ छाडेको दिनदेखि १२ वर्षसम्म गाउँमा पानी परेन । गाउँलेहरु जिउने विभिन्न उपायको खोजीमा लागे । स्थानीयले अन्ततः के त्यो बालक भगवान त होइन ? अरुलाई दिएर पठायौं भनेर आत्मालोचना गर्दै लिन जाने निधो गरे । उनीहरुले त्यो बालक लैजाने बृद्धकहाँ पुगेर गाउँको सबै अप्रिय घटनाबारे बताए । त्यसपछि सात थुम्से खाक्सी छिपेको दाना लगेर बुझाएर बालकलाई लिएर गाउँ फर्के । जब त्यो बालक गाउँमा आए त्यसपछि पानी परेर हरियो–परियोले ढकमक्क छाएको थियो । त्यसपछि त्यस व्यक्तिलाई ‘लिब्जु’ भनेर नामाकरण गरियो ।
लिब्जु भन्नाले यस क्षेत्रको राईहरुको भाषामा युग फर्काउनु हो । किनभने १२ वर्षसम्म सुख्खा लागेको र जब लिब्जुले गाउँ टेक्यो सम्पूर्ण युग फर्केको थियो । लिब्जु राई लिब्जु उपो (बाजे) पनि भनिन्छ ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen