- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगामा प्रहरीले महिलामाथि दुव्र्यवहार गरेपछि स्थानीयले चौकी घेराउ गरेका छन् । प्रहरी चौकी श्रीचौरका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले एक महिलालाई यौन दुव्यवहार गरेको भन्दै स्थानीयले आईतबार राती प्रहरी चौकी घेराउ गरेका हुन् ।


मदिरा सेवन गरेर अचेत अवस्थामा पुगेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफुलाई यौन दुव्र्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए । प्रहरीले संवेदनशिल अंगमा समातेर यौन सम्पर्कका लागि जवरजस्ति प्रस्ताव गरेको पीडित महिलाले बताएकि छिन् । ‘म खाएर बसेको ठाँउमा पुलिस आएर मलाई नराम्रो व्यवहार गर्यो । अनि मैले २ झापट दिएँ र गुहार मागेर चिच्याएँ अनि भाग्यो ।’ पीडित महिलाको भनाई ।
प्रहरीबाटै महिला असुरक्षित भएपछि दोषीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिएको स्थानीय युवा पदम तामाङले बताए । ‘सुरक्षा दिने प्रहरीबाटै असुरक्षा भोग्नु परेको छ । हामी कानुनी कारबाही नभएसम्म चुप बस्दैनौं ।’ प्रहरीले मदिराको तालमा महिलामाथी दुव्र्यवहार गरेको हल्ला फैलिएपछि गाउँका अधिकांश मानिसहरु राती नै चौकी घेर्न पुगेका थिए । घेराउमा रातभर गाउँका पुरुषहरु सहभागी थिए । बिहान उज्यालो भएपछि ठुलो संख्यामा महिलाको उपस्थिती छ । यसअघि पनि श्रीचौरमा कार्यरत प्रहरीले मदिरा सेवन गरेर महिलामाथि हिँसा गरेका घटनाहरु सार्वजनिक भएका थिए ।
आक्रोशित व्यक्तिहरुले असई विश्वकर्मा र चौकी माथि आक्रमण गर्ने अवस्था आएपछि स्थानीय अगुवाहरुले नै सुरक्षा दिएका थिए । ‘हामीले अन्न फलाएर खाने जग्गा दिएर, चन्दा उठाएर बनाएको चौकीको भवन क्षति हुने अवस्था आएपछि आफैं गएर चौकी र प्रहरीको सुरक्षा दिऔं ।’ स्थानीयको भनाई उद्रित गर्दै घटनास्थलबाट पत्रकार शिबकुमार कार्कीले भने,‘असईलाई कुटेर मात्रै रिस फेर्ने भनेर आएको भिडलाई साम्य पार्न निकै हम्य–हम्य भयो । अहिले दुवै पक्ष राखेर कुरा भईरहेको छ ।’ वडा अध्यक्ष सहितका जनप्रतिनिधि र स्थानीय बसेर घटनाका विषयमा छलफल गरिरहेका छन् ।
प्रहरी र पीडित महिलालाई राती नै स्वास्थ्य परिक्षण गरिएको थियो । परिक्षण गर्दा महिला र प्रहरी दुवैले अत्याधिक मदिरा सेवन गरेको पाईएको स्वास्थ्य चौकी श्रीचौरको रिपोर्टमा उल्लेख छ ।


दोषी भए असईलाई विभागीय कारबाही हुन्छ : प्रहरी प्रमुख मल्ल
प्रहरीले मदिरा सेवन गरेर महिलामाथी दुव्र्यवहार गरेको भन्ने गुनासो आएकाले उनलाई जिल्ला झिकाउने तयारी भईरहेको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताए । ‘प्रहरी असई विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई दुव्र्यवहार गरेको भन्ने कुरा सुन्नमा आएको छ, सत्य के हो त्यो अनुसन्धान गर्छौ ।’ प्रहरी प्रमुख मल्लले भने,‘जिल्ला झिकाउन निर्देशन दिईसकेको छु । यदि गल्ती गरेको रहेछ भने विभागीय कारबाहीका लागि सिफारीस गर्छु ।’ स्थानीयले रातभर चौकीको सुरक्षा दिएर थप घटना हुन नदिएको उनले बताए । ‘स्थानीयले बनाईदिएको चौकीलाई उहाँहरुले नै सुरक्षा दिनुभयो र थप केही घटना हुन पाएन । असई लाई जुन आरोप लागेको छ त्यसमा अनुसन्धान गरेर कानुनी कारबाही गरिन्छ ।’ प्रमुख मल्लले भने ।

तपाईको प्रतिक्रिया

‘सुनकोशीको पुल’ बजारमा Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen