- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा-  स्थानीय तहले जथाभावी शिक्षक नियुक्ती गर्न नमिल्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले बताएका छन् । ओखलढुंगामा स्कूल अफ हेल्थ साईन्सको अनुगमन गर्दै मन्त्री पोखरेलले शिक्षक नियुक्ती गर्ने अधिकार शिक्षक सेवा आयोगसँग मात्रै भएको बताएका हुन् ।


मन्त्री पोखरेलले स्थानीय सरकारले क्षेत्राधिकार मिचेर शिक्षक नियुक्ती गरेको प्रति असन्तुष्टि व्यक्त गरे । ‘संविधान भन्दा बाहिर जान मिल्दैन । त्यसैले शिक्षक नियुक्ती गर्ने अधिकार शिक्षक सेवा आयोगसँग मात्रै छ । स्थानीय, प्रदेश र संघ तीन वटै सरकारले शिक्षक नियुक्ती गरे त्यो संविधान विपरित हुन्छ ।’ पोखरेलले भने,‘खल्तीबाट झिकेर जथाभावी जो पायो त्यहि मान्छेलाई शिक्षक बनाउने काम बन्द गरौं ।’ शिक्षक सेवा आयोग पास गरेका व्यक्तिलाई मात्रै शिक्षक भर्ती गर्नुपर्ने बताए । शिक्षक सवल भए मात्रै शिक्षाको गुणस्तर बढ्ने उनको भनाई थियो ।

देशभर प्राविधिक शिक्षा विस्तार गर्ने सरकारको तयारी

सरकारले देशभर प्राविधिक शिक्षा विस्तार गर्ने तयारी गरेको पोखरेलले बताए । अर्को वर्ष सम्ममा देशका सबै ७ सय ५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षाका कक्षाहरु सञ्चालन गरिने उनको भनाई छ ।
घाेकन्ते शिक्षाले व्यक्तित्व विकास नहुने भएकाले विद्यार्थीले रोजेको विषयमा प्राविधिक ज्ञान दिएर आत्मनिर्भर बनाउन पहल भईरहेको उनको भनाई छ । ‘घाेकेर कखरा सिकाएर मात्रै अब केही हुँदैन । त्यसैले शिक्षालाई श्रमसँग श्रमलाई सिपसँग सिपलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोड्नुपर्छ ।’ उनले भने,‘११ र १२ कक्षामा जिवनपयोगी शिक्षा दिन उच्च मावि सम्मलाई विद्यालय शिक्षा भनिएको हो । १२ कक्षा बढ्दा प्रत्येक विद्यार्थीले एउटा सिप सिकेको हुनुपर्छ ।’ प्राविधिक धारका कक्षा सञ्चालनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले साझा प्रयास गरिरहेको उनको भनाई छ ।
विद्यालय बाहिर रहेका विद्यार्थीलाई भर्ना अभियानमा समेट्न नसकिएको मन्त्री पोखरेलले बताए । अझै ६० हजार बालबालिका विद्यालय बाहिर रहेको उहाँको भनाई छ ।


ओखलढुुंगाका सांसद यज्ञराज सुनुवारले ओखलढुंगामा स्कूल अफ हेल्थ साईन्सको अध्ययान÷अध्ययापन सुरु भएपछि पूर्वी पहाडि क्षेत्रका विद्यार्थीहरुले नर्सिङले पढ्न लाखौं खर्च गरेर टाढा धाउनुपर्ने बाध्यता टरेको बताए । सांसद सुनुवारले नर्सिङ कक्षाको व्यवस्थापनका लागि १५ लाख रकम सहयोग गर्ने घोषणा गरे । आगामी आर्थीक वर्षको स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट थोरैमा १५ लाख नगद सहयोग गर्ने सुनुवारले घोषणा गरेका हुन् ।

ओखलढुंगा सामुदायिक अस्पतालको व्यवस्थापनमा जिल्लामा स्कूल अफ हेल्थ साईन्सको अध्ययान÷अध्ययापन यसवर्ष देखि सुरु भएको छ । अहिले २० जना छात्राहरुले अध्ययान गरिरहेको अस्पतालका निमिक्त निर्देशन बुद्ध श्रेष्ठले जानकारी दिए । लामो प्रयासपछि सिटिईभिटिसँगको साझेदारीमा नर्सिङ अध्ययापन सुरु गरिएको उनको भनाई छ ।

ओखलढुंगाका स्थानीय अगुवाहरुले शिक्षाक्षेत्रमा देखिएको बेथिती सुधारका लागि मन्त्री पोखरेलसँग माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen