तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल वक्षःस्थलमा
यो कविको शैशवकाल बित्यो,
हाँस्यो, खेल्यो, वन कुञ्ज घुम्यो
मेरो प्यारो ओखलढुंगा !
माथिका हरफहरु कवि सिद्धिचरण श्रेष्ठको ओखलढुंगा कविताको केही अंश हुन् । नेपाली साहित्यमा दरिलो स्थान बनाउन सफल कवि सिद्धिचरण श्रेष्ठ लाई ‘युगकवि’को उपमा दिईएको छ । ‘मेरो प्यारो ओखलढुंगा‘ कविताले बढी चिनिएका श्रेष्ठको जन्म वि.सं.१९६८ जेठ ९ मा भएको थियो ।
ओखलढुंगामा तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा सुमति उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा ओखलढुंगा बजारमा सिद्धिचरणको जन्म भएको थियो । जानकारहरुका अनुसार ओखलढुंगा जिल्लामा त्यसबेला स्कुल थिएनन् । ब्राह्मण बालकहरू मात्र गुरुका घरमा गएर रुद्री, चण्डी र वेद पढ्ने गर्थे । त्यसैले सिद्धिचरणले ओखलढुंगामा सात वर्षको उमेरसम्ममा केवल बाह्रखरीको मात्र अध्ययन गर्न पाए । पछि वि.स.१९७६ सालमा बाबुआमा ओखलढुंगाबाट आफ्नो घर काठमाडौँ फर्किएपछि सिद्धिचरण पनि सँगसँगै काठमाडौँ गएका थिए । काठमाडौं गएर उनले दरबार स्कुलमा पढ्न थाले । तर हिसाबमा कमजोर हुनाले कक्षा आठमा पुग्दा नपुग्दै उनले स्कुल छाडे ।
सिद्धिचरण श्रेष्ठले पाँच कक्षामा पढ्दादेखि नै कविता लेख्न थालेका थिए । उनको पहिलो कविता २०२१ सालमा प्रकाशित कवितासंग्रह कोपिलामा संग्रहित छ । उनले १९९२ सालमा ओखलढुंगा कविता रचेका थिए । त्यसबेला उनि २३ वर्षका थिए । यो कविता नेपाली साहित्यको एउटा प्रकृतिपरक कविताका रुपमा मानिन्छ । १९९२ सालसम्ममा सिद्धिचरणका ओखलढुंगा सहित निर्झर, साँझमा हिमालयको दृश्य, ‘प्रातकालीन किरण’, ‘जूनकीरी, ‘सपनाझैँ देखेँ तिनलाई’,‘वर्षा आयो, ‘वसन्त’ जस्ता कविता शारदामा प्रकाशित भइसकेका थिए । औपचारिक शिक्षालाई निरन्तरता दिन नसकेतÞा पनि उनले प्रशस्त स्व–अध्ययन गरेका थिए ।
युगकवि सिद्धिचरण १९९५ सालदेखि एकतन्त्रीय जहानियाँ राणाशासनका विरुद्ध स्पष्टतः विद्रोही एवं क्रान्तिकारी कविका रूपमा देखापरेका थिए । यसक्रममा सिद्धिचरणका तीनवटा नेवारी कविता राष्ट्रिय गान, ‘वर्षा’ र ‘गंगुखुसी’ छापिएका थिए । त्यस्तै उनका परिचय (१९९५), चम्क युवक (१९९५)जस्ता कविता र विश्वव्यथा (१९९६–९७) जस्ता कविताहरु प्रकाशित भएका थिए ।
साहित्य मार्फत उनले गरेको विद्रोहका कारण सिद्धिचरणलाई सर्वस्वसहित १८ वर्षको कठोर कारावासको सजाय दिइयो । १८ वर्षको जेल सजाय भएको भए तापनि पछि श्री ३ जुद्धको महर्षिबन्ने अभिलाषाले गर्दा पाँच वर्षपछि अर्थात् २००२ सालमा उनी रिहा भएका थिए । कवि सिद्धिचरण यसरी जेलबाट रिहा हुनुभन्दा केही महिनाअघि उनका पिता विष्णुचरण श्रेष्ठको देहावसान भएको थियो तर सिद्धिचरणलाई आफ्ना पिताको दाहसंस्कारसमेत गर्न दिइएन । उनको जीवनमा अनेक घटनाहरुले सताएका थिए, जसमध्ये उनको चार वर्षे छोरा विश्वचरण श्रेष्ठको मृत्युले उनि अझ विक्षिप्त बनेका थिए ।
सिद्धिचरण श्रेष्ठका अमूल्य कृतिहरु मेरो प्रतिबिम्ब (२०२१), कोपिला (२०२१), कुहिरो र घाम (२०४५), सिद्धिचरणका प्रतिनिधि कविता (२०४५), तिरमिर तारा (२०४६) र बाँचिरहेको आवाज (२०४६) कविता संग्रहहरु तथा उर्वशी (२०१७), ज्यानमारा शैल (२०२३), मंगलमान (२०४९) र आँसु (२०५०) खण्डकाव्यहरु रहेका छन् । श्रेष्ठले आफ्नो जीवनकालमा भूकम्प पीडितोद्वार समितिका कारिन्दा(१९९०), शारदाका सम्पादक(१९९१), दैनिक आवाज पत्रिकाका प्रधान सम्पादक(२००७), कविता पत्रिकाका संस्थापक(२०१२), नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानका सदस्य(२०१४), कविता प्रतिकाका प्रधान सम्पादक(२०१८), शारदा पत्रिककाका सम्पादक(२०२२), कविता महोत्सबका संस्थापक(२०२२), राजसभा स्थायी समितिका सदस्य (२०२८) भएर काम गरेका थिए ।
युगकवि उपमाले सम्मानित सिद्धिचरण श्रेष्ठ भूकम्प तक्मा (१९९०), त्रिभुवन पुरुस्कार (२०२७), रत्नश्री सुवर्ण पदक (२०३१), पृथ्वी प्रज्ञा पुरुस्कार (२०४५), बेधनिधि पुरुस्कार (२०४६), गोरखा दक्षिण बाहु, त्रिशक्तपट्ट, श्रीरामपट्ट आदि पुरस्कारहरुबाट समेत सम्मानित भएका थिए । वि.स.२०४९ जेठ २२ गते निधन भएका उनि आजसम्म पनि आफ्ना कृतिहरुको माध्यमबाट बाँचिरहेका छन् ।

युगकविको सम्मानमा जुट्यो पछिल्लो पुस्ता
सिद्धिचरण श्रेष्ठ ओखलढुंगासँग जोडिएको एउटा नाम हो । उनि ओखलढुंगामा जन्मिएका मात्रै होईनन् उनले ओखलढुंगालाई विश्वमा चिनाएका पनि हुन् । केही वर्ष अगाडी सम्म माध्यमीक तहको औपचारिक शिक्षा आर्जन गर्ने विद्यार्थीले लयमा बाँधेर वाचन गर्ने ‘मेरो प्यारो ओखलढुंगा’ कविताले मात्रै सिद्धिचरणलाई सम्झाउँथ्यो । त्यसको अलवा जन्मस्थल ओखलढुंगा र राजधानी काठमाण्डौमा अर्धकदको शालिक देखिन्थ्यो । जन्मस्थल ओखलढुंगामा कित्ता नम्बर ३५ को जग्गा सिद्धिचरण श्रेष्ठकै नाममा छ । त्यहाँ अहिले पूर्णकदको शालिक र सिद्धिचरण पार्क निर्माणको चरणमा छ ।
विगतमा युगकविलाई वर्षमा एक दिन जेठ ९ गते जन्मजयन्तीमा मात्रै सम्झने चलन थियो । तर पछिल्लो पुस्ताले सिद्धिचरणको सम्मानमा थुप्रै रचनात्मक कामको थालनी गरेका छन् ।


जिल्लाको एकमात्र नगरपालिकाको नाम उनै युगकवि सिद्धिचरणको नामबाट ‘सिद्धिचरण नगरपालिका’ राखिएको छ । माथिल्लो सगरमाथालाई तराई जोड्ने सडकको नाम ‘सिद्धिचरण राजमार्ग’ भनिएको छ । साहित्यीक भूमि भनेर चिनिने ओखलढुंगामा स्रष्टाको सम्मानमा खासै कुनै संरचना थिएनन् । २०७० सालमा यज्ञराज सुनुवार सांसद निर्वाचित भएपछि स्रष्टापार्क निर्माणको योजना अघि सारेका थिए । त्यो योजना उनको दोस्रो कार्यकालमा भर्खर पुरा भएको छ । सिद्धिचरणको जन्मभूमिमा उनको सपना साकार पार्ने प्रयास गरिएको सांसद यज्ञराज सुनुवार बताउँछन् ।‘सिद्धिचरण ओखलढुंगाका मात्रै हाईन देशकै महान कवि अझ भन्दा परिचायक हुन् । उनले त्यो बेला देथेको सपना अहिले हामी साकार पार्दैछौं ।’ सांसद सुनुवारको भनाई ।
सिद्धिचरण नगरपालिकाले पनि सिद्धिचरण पार्क, सिद्धिचरण संग्राहल, स्रष्टापार्क लगायतका संरचनालाई व्यवस्थापन गरेको छ । प्रकृतिप्रमी कविका रुपमा समेत चिनिएका सिद्धिचरण श्रेष्ठको ओखलढुंगा कविताका हरफजस्तै सिद्धिचरण नगरलाई सफा र स्वच्छ बनाउन आफुहरु लागि परेको सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठले बताए । ‘युगकवि यहाँ जन्मनुभयो र जन्मभूमिलाई सम्झीएर कविता मार्फत एउटा सपना बाँढ्नुभयो ।’ मेयर श्रेष्ठले भने,‘उहाँले सिर्जना मार्फत सपना छाडेर जानुभयो हामी अहिले विकास र समृद्धिको अभियानमा छौं । उहाँका सपनाहरुलाई पनि साकार पारिरहेका छौं ।’ सिद्धिचरण नगरपालिकालाई पर्यटकिय नगरि बनाएर सिद्धिचरणको जन्मभूमिलाई देशको प्रमुख पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न पहल गरिरहेको मेयर श्रेष्ठले बताएका छन् ।
सिद्धिचरण नगरलाई पर्यटकिय क्षेत्र बनाउन सिद्धिचरण पार्क, सिद्धिचरण संग्राहलय, सहित पार्क रुम्जाटार गुम्बा, नगरगेट, भ्यू टावर लगायतका संरचना निर्माण भईसकेका छन् ।
युगकविका छोरा रविचरण श्रेष्ठपनि बुबा सिद्धिचरणको ईतिहास बचाउने अभियानमा जुटिरहेका छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen