- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको कुन्तादेवी स्थित पसलडाँडा–मान्द्रेदोभान सडक उद्घाटन गरिएको छ । प्रदेश सांसद अम्बिरबाबु गुरुङले आईतबार एक भव्य कार्यक्रमका बीच उक्त सडक उद्घाटन गरेका हुन् ।


सांसद गुरुङको संसद विकास कोषको २० लाख बजेटबाट खनिएको सडकले कुन्तादेवीको केन्द्रबाट मान्द्रे दोभान र ढकालगाउँ आसपासको क्षेत्रलाई सडक सञ्जालमा जोडिएको छ । उक्त सडक जिल्लाको पश्चिमी क्षेत्र प्रवेशका लागि वैकल्पीक मार्ग पनि मानिएको स्थानीय युवा टिका धमलाले बताए । वर्षौ अघि देखि स्थानीयले माग गर्दै आएको उक्त सडक निर्माणका लागि आफुले सहयोग गर्ने सांसद गुरुङले चुनावी अभियानमा प्रतिवद्धता जनाएका थिए । पहिलो वर्षको बजेटबाटै सांसद गुरुङले चुनावी वाचा पुरा गरेको भन्दै सडक उद्घाटनका क्रममा स्थानीयले अभिनन्दन समेत गरेका थिए ।


गाउँमा सडक निर्माण भएपछि स्थानीयले नाचगान गरेर खुसीयाली मनाएका छन् । सडक उद्घाटन सँगै सरस्वती माविका विद्यार्थीहरुलाई पुरस्कार वितरण, जग्गादाता तथा व्यवस्थान समिति र पूर्व शिक्षकहरुलाई सम्मानका लागि आयोजना गरेको संयुक्त तथा बृहत कार्यक्रममा स्थानीयले नाचगान गरेर खुसीयाली व्यक्त गरेका हुन् ।

गाउँको विकासका लागि सांसदसँग थप सहयोग समेत माग गरिएको स्थानीय नेता कमलबहादुर बानीयाँले बताए । ‘प्रदेश सांसद ज्युले यहाँको सडक, शिक्षा र युवाहरुको विकासका लागि थुप्रै सहयोग गर्नुभएको छ । फेरि पनि सहयोगलाई निरञ्तरता दिन माग गरेका छौं ।’ बानीयाँले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बानीयाँको पहलमा सांसदले सहयोग गरेपछि पसलडाँडा– मान्द्रेदोभान ४ किलो मिटर सडक निर्माण भएको स्रोतले जनाएको छ । वडा अध्यक्ष प्रदिप बानीयाँले पनि विकासका लागि सकारात्मक भूमिका खेलेर सहयोग गरेको भन्दै सांसद गुरुङको प्रशंसा गरेका थिए । कार्यक्रममा स्थानीयले गीत र कविता मार्फत सांसद गुरुङको योगदानको प्रशंसा गरेका थिए ।

म भाषण हाेइन विकास गर्छु : सांसद गुरुङ

सांसद अम्बिरबाबु गुरुङले ओखलढुंगाको विकासमा उल्लेख्य परिवर्तन ल्याउने बताएका छन् । सडक उद्घाटन तथा विद्यार्थी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गुरुङले आफ्नो यो कार्यकाल ओखलढुंगाको विकासको कार्यकालका रुपमा स्थापित गराउने बताएका हुन् । ‘म ताली खाने चिप्लाे भाषण गर्न हाेइन विकास गर्न चाहान्छु ।  मलाई तपाईहरुको आवश्यकता पहिचान गरेर डिपिआर बनाएर काम दिनुस् कति बजेट ल्याएर कस्तो काम गर्नुपर्छ त्यो मेरो जिम्माभयो ।’ सांसद गुरुङले भने,‘मुखले मागेका भरमा वा खेस्रा निवेदन लेखेका भरमा मात्रै ठुला विकास बजेट ल्याउन सकिन्न । झाराटार्ने काम गरेर जनता ढाँट्ने काम म बाट हुँदैन ।’ निर्वाचनमा गरेका बाचा र नागरिकका अपेक्षा अनुसार काम गर्ने उनको भनाई थियो । डिपिआर विनाका याेजनाहरु दिर्घकालिन नहुने उनकाे तर्क छ ।

सांसद गुरुङले विकासका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । ‘रकम ल्याउने काम मेरो भयो, तर यहाँ सहि सदुपयोग भयो कि भएन भनेर निगरानी गर्ने र दुरुपयोग हुनबाट रोक्ने काम स्थानीय जनप्रतिनिधि र तपाई गाउँबासीहरुको हो ।’ विकास र रुपान्तरणका लागि जागरुक बन्न सांसद गुरुङले आग्रह गरेका छन् ।
विव्यस अध्यक्ष कमलबहादुर बानीयाँको अध्यक्षता तथा सांसद अम्बिरबाबु गुरुङके प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व सांसद बालकृष्ण ढुंगेल सहितका सरोकारवालाको उल्लेख्य सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen