- पूर्णप्रसाद न्याैपाने

काठमाण्डौ- दश वर्षीय एक अवतारी लामाले गद्दी आरोहण गर्ने भएका छन् । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछेले बुधबार गद्दी आरोहण गर्ने भएका हुन् ।
अवतारी ङवाङ तेन्जिन ठिन्ले रिम्पोछेले ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका २ स्थित ङोडुब क्षोलिङ गोन्पाको परम गुरु नोर्बु लामा शेर्पाको पुनःजन्म पाएका हुन् । उनलाई दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बाका प्रमुख खेनटुल ग्याङखाङ रिन्पोछेले आफ्नो चेलालाई गद्दी आरोहण गराउने तयारी भईरहेको समन्वयकर्ता ङवाङ थुचेन लामाले जानकारी दिए । शेर्पा गुम्बा काठमाण्डौमा हुने गद्दी आरोहण कार्यक्रमको तयारी पुरा भएको छ । गद्दी आरोहण (ठिदेन) का लागि भारतबाट अवतारी सहितका विशिष्ठ व्यक्तिहरु नेपाल आईसकेका छन् भने अवतारीका परिवार र ओखलढुंगा सहित देशका विभिन्न स्थानका बौद्ध धर्मका अनुयायीहरु राजधानी आईसकेका छन् ।

को हुन् दश वर्षीय अवतारी ?
तेन्जिन शेर्पाको ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिका २ रगनीमा २०६५ साल असोज १३ गते जन्म भएको हो । उनका बुबा आङनिमा शेर्पा र आमा दाटी शेर्पा हुन् । उनि ५ वर्ष देखि दक्षिण भारतको नाम्ड्रोल लिङ गुम्बामा अध्ययान गरिरहेका छन् ।
आफन्तका अनुसार बाल्यकालमै उनले आफु नोर्बु लामाको पुुनर्जन्म पाएको बताएका थिए । पछि लामा पढ्न थालेका उनले बौद्धिक मान्यता अनुसार पुुनर्जन्म पाएको पुष्टि गरेका छन् । अघिल्लो जन्ममा भए गरेका सबै काम र योजनाबारे बताएपछि उनलाई अवतारी भएको औपचारिक मान्यता दिन बुधबार कार्यक्रम गर्ने तयारी गरिएको थोलेदेम्बा शेर्पा किदुकका अध्यक्ष डेण्डी शेर्पाले बताए । ‘यो अरुलाई नौलो लाग्छ जस्ले बौद्ध धर्म र संस्कार बुझेको उनिहरुका लागि धेरै खुसीको कुरा हो । गाउँ र जिल्लाको मात्रै होईन उनि देशकै सम्पत्ती हुन् ।’अध्यक्ष शेर्पाले भने,‘पुनर्जन्म पाएको भन्ने सबै प्रमाण पुरा भईसकेकाले अवतारीको गद्दी आरोहण गराएर औपचारिक मान्यता दिलाउन तयारी गरिरहेका छौं ।’ थोलेदेम्बा शेर्पा किदुकले गद्दी आरोहण कार्यक्रमलाई व्यवस्थापकिय सहयोग गर्ने भएको छ ।
के हो अवतारी ? कसरी हुन्छ पुनर्जन्म ?
लामा थुचेन भन्छन् ‘सत्य धर्मात्मी मान्छेहरुको पुनर्जन्म हुन्छ’
नाम्ड्रोल थर्पालिङ् गोन्पा चर्नालुका प्रमुख लामा थुचेनका अनुसार बौद्ध धर्ममा धर्मगुरु (लामा) को मृत्यु भईसकेपछि अर्को व्यक्तिले त्यो लामाको बारेमा सबै भन्न र चिन्न सक्ने मान्छेलाई अवतारी पाएको भन्ने गरिन्छ । सत्य र धार्मीक मान्छेहरुले पुनर्जन्म लिने धार्मीक विश्वास रहेको उनि बताउँछन् । ‘मानिसहरु सबैले पुनःजन्म पाएका हुन्छन् । तर सबै मानिसलाई आफ्नो पूर्व जन्मको बारेमा जानकारी हुँदैन तर पुनःजन्म पाएका लामाहरुलाई सबै कुरा थाहा हुन्छ ।’उनले भने,‘ सत्य मान्छेको जन्म समाजको कल्याणका निम्ती हुन्छ, राम्रो काम गर्दा गर्दै भौतिक शरिर मर्छ तर सुरु गरेका कामहरु पुरा गर्न फेरि अर्को व्यक्ति भएर जन्मन्छन् । त्यहि हो अवतारी लामा भनेको पनि ।’ लामा थुचेनका अनुसार यसरी जन्मीएका लामाहरुलाई पूर्व जन्मको बारेमा सबै जानकारी हुन्छ । त्यो हो वा होईन भन्ने विषयमा समाजका अगुवाहरु बिच छलफल हुन्छ । पुनर्जन्म लिएको दावी गर्ने लामालाई पहिलेको जन्ममा भएका कामहरु र आफ्ना आफन्त परिवार, धन, सम्पत्ती लगायका बारेमा सोध्ने गरिन्छ । यसरी सबैकुरा मिलाएर त्यो पुष्टिभए बल्ल अवतारी मान्यता दिईन्छ । अवतारी मान्यता पाएका व्यक्ति दिवांगत भएपछि अर्को त्यस्तै बालकले बोलि आउँदै आफैंले पूर्वजन्मको बारेमा बतायो र त्यो मिल्यो भने उसलाई दोस्रो अवतारीको मान्यता दिईन्छ ।


शेर्पा भाषमा अवतारीलाई (टुल्को) भनिन्छ । जानकारहरुका अनुसार बौद्ध धर्मको धार्मिक विकास र धर्मसँग जोडिएका सवालमा काम गर्ने अवतारी लामाको दायित्व हुन्छ ।
साझा सम्पतिका रुपमा हेरिएका १० वर्षिय अवतारी लामाले अब करिब १२ वर्ष दक्षिण भारतमा उच्चतह अध्ययान गरेपछि खेन्पोको उपाधि पाउन योग्य हुन्छन् । केही वर्ष गुम्बामा रहेर गुरुको सेवा गरेपछि खेन्पो उपाधि पाएमा उनि बौद्ध धर्ममा सर्वविज्ञ मानिन्छन् । ओखलढुंगामा अवतारी आमा अरुपनि छन् । तर यसरी भव्य समारोहका बिच गद्दी आरोहण गर्ने उनि पहिलो अवतारी लामा हुनेछन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen