- भिजन समाचार

ओखलढुंगा– ओखलढुंगाका स्थानीय तहहरुले नीति विपरितका निर्णयहरु गर्ने गरेको खुलेको छ । जनप्रतिनिधिहरुले आफ्नो अधिकारको प्रयोग गर्ने नाममा राज्यको नीति नै उलंगन गर्ने गरिएको पाईएको हो । स्थानीय तहका काम बारे आवाज उठ्दा क्षेत्राधिकार मिचेको नस्विकार्ने तर ऐन केलाउँदा त्यो पुष्टिहुने गरेको यसैसाता लिखु र चम्पादेवी गाउँपालिकाका कतिपय निर्णयका बारेमा अदालतले दिएको आदेशले देखाएको छ ।
अन्य स्थानीय सरकारहरुले पनि थुप्रै नीति विपरितका निर्णयहरु गरेको सुचना प्राप्त भएको छ । जनप्रतिनिधिहरुले नेतृत्व गरेको स्थानीय सरकारले गरेका कतिपय निर्णयले समस्या समेत उत्पन्न हुन थालेको छ ।


ओखलढुंंगाको चिशंखुगढी गाउँपालिकाले गरेको नीति विपरितको निर्णयले त्यहाँको प्राकृतिक सम्पतिको दोहन बढेको छ । पालिका भित्रका ढुंगा गिटी बालुकाको ठेक्का लगाउन देखि वनक्षेत्रमा सडक निर्माण गर्दा समेत सरकारी नीति पालना नगरेको खुलेको छ ।

करोडौंकाे ढुंगा,गिटि,बालुवा  २ लाखमा ठेक्का
गाउँपालिकाले करोडौं मुल्य पर्ने ठोट्ने खोलाको ढुंगा गिटि बालुका निकासीका लागि २ लाखमा ठेक्का दिएको छ । वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) गरेर बढि भन्दा बढि रकममा ठेक्का दिनुपर्ने भएपनि चिशंखुगढी गाउँपालिकाले (ईआईए) समेत नगरि २ लाखमा ठेक्का दिएको छ । ठोट्ने खोला सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकाको सिमाना हो । नगरपालिकाले पनि १० लाखमा ठेक्का आवहन गरेको थियो । प्रदेश सांसद अम्बिरबाबु गुुरुङले (ईआईए) नगरि कम रकममा ठेक्का दिन नहुने बताएपछि नगरपालिका आफ्नो निर्णयबाट पछि हट्यो । तर चिशंखुगढीले २ लाखमै ठेक्का लगायो । ‘दुई लाखको ठेक्का भन्ने बुझिन्छ तर करोडौंको ढुंगा,गिटी र बालुवा निकासा भईरहेको छ ।’ माम्खाका एक स्थानीयले भने,‘चुनाव जितेर ठुलो मान्छे भएपछि जे गरेपनि हुने रहेछ, खोला सबै बेचेर खानेभए ।’ सामान्य सरकारी नीति समेत पालना नगरि ठेक्का दिएको विषय पेचिलो बनेको छ । यहि विषयले प्रदेश सांसद अम्बिरबाबु गुरुङ र गाउँपालिका अध्यक्ष निशान्त शर्मा बिच बोलचाल बन्द छ ।
प्रदेश सांसदले आफुले दिएको सुझाव नमानेको र नीति पनि उलंघन गरेर काम गरेको भन्दै सार्वजनिक कार्यक्रम मार्फत नै खबरदारी गरेका थिए । जनप्रतिनिधिको कामको विषयमा टिक्का टिप्पणी हुन थालेपछि सांसद गुुरुङले जानजान गलत निर्णय नगर्न सुझाएका थिए । त्यहि विषयलाई लिएर गाउँपालिका अध्यक्षले आफ्नो अपमान भएको भन्दै विज्ञप्ती नै जारी गरे । यतिबेला एउटै पार्टी (नेकपा) का दुई नेता बीच दुरि बढेको छ । नीति विपरित काम गर्ने गरेको भनेर चिशंखुका जनप्रतिनिधिको चर्को आलोचना पनि भईरहेको छ ।
वनमुद्दामा तानिए सर्वसाधारण
चिशंखुगढीमा सडक निर्माणमा पनि सरकारी नीति पालना नगरेको भेटिएको छ । वन क्षेत्रबाट सडक निर्माण गर्दा पहिल्यै प्रारम्भीक वातावरणीय परिक्षण (आईईई) गर्नुपर्ने भएपनि त्यो नियम चिशंखुगढीले कार्यान्वयनमा ल्याएको छैन । स्रोेतका अनुसार जिल्लाका अन्य ठाँउमा पनि यो समस्या छ तर चिशंखुगढीको विषयमा मुद्दा नै दायर भईसकेको छ ।
चिशंखुगढी गाउँपालिका साविक सेर्नाको थलेथुम्को सामुदायिक वन क्षेत्रबाट सडक निर्माण गरेर वन क्षेत्रमा नोक्सानी गरेका भन्दै डिभिजन वन कार्यालयमा उजुरी परेको हो । प्रारम्भीक वातावरणीय परिक्षण समेत नगरि सडक निर्माण गरेको विषयमा उजुरी परेपछि थप प्रमाण जुटाउने काम भईरहेको डिभिजन वन कार्यालय ओखलढुंगाका प्रमुख सन्तमायाँ श्रेष्ठले बताईन् । ‘जथाभावि वन क्षेत्रमा सडक खनेको भनेर उजुरी परेको छ । हामीले अध्ययान गरिरहेका छौं’ श्रेष्ठले भनिन् ‘पहिलो चरणको बयान लिने सम्मको काम भईसकेको छ ।’ आईईई नगरेको भेटिएकाले वन ऐन अनुसार कारबाहीका लागि सिफारीस गरिने उनको भनाई छ ।
उता वन समुहका पदाधिकारीले भने आफुहरुलाई फसाउन लागिएको भन्दै दुःख व्यक्त गरेका छन् । ‘नेताहरुले बोले पैसा पठाए, ठेकेदारले डोजर लगाएर बाटो खने अहिले हामीलाई मुद्दा लगाईयो ।’ नाम नबताउने सर्तमा एक पदाधिकारीले भने‘यस्तो हुन्छ भन्ने थाह पनि थिएन । फेरि सबै ठाँउमा यो खालको विकास भएकै छ ।’ सर्वसाधारणलाई मात्रै मुद्दामा तानिए आफुहरु विद्रोहमा उत्रिने स्थानीय अगुवाहरु बताउँछन् ।

नीति कार्यान्वयन महंगो : पालिका अध्यक्ष
गाउँपालिका अध्यक्ष निशान्त शर्माले सरकारी नीति कार्यान्वन निकै खर्चिलो हुने बताए । ठेक्कामा आम्दानी भन्दा बढि खर्च र विकास बजेटपनि नीतिको कार्यान्वन गर्दैमा जाने भएकाले त्यसो गरिएको उनको तर्क छ । ‘भन्न पो सजिलो छ, डिपिआर,ईआईए र आईईई यो गर्न कहाँ सजिलो छ र ? धेरै खर्च लाग्छ । पैसा त्यता सकेर विकास केले गर्ने ?’ कुईभिर माविको भवन उद्घाटन कार्यक्रममा बोल्दै केही समय अघि शर्माले यसो भनेका थिए । प्रदेश सांसदलाई संकेत गर्दै उनले भनेका थिए,‘हामी सक्दैनौं त्यो सबै गर्न को कस्लाई डिपिआर बनाएर ईआईए र आईईई गरेर विकास गर्नुपर्छ भन्ने लाग्छ गरे हुन्छ ।’ तर चर्को आलोचना भएपछि नीति अनुसार नभएका काम सच्चाउन जिल्ला स्थित सरोकारवालाहरुले पालिकालाई सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen