- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको खिजीफलाटेमा मालपोत र नापी कार्यालयको उद्घाटन गरिएको छ । केही समय अघि स्थापना भएर सेवा सुरु गरेका कार्यालयहरुको बुधबार भव्य कार्यक्रमका बिच उद्घाटन गरिएको हो । जिल्लाको सबैभन्दा दुर्गममा पर्ने खिजीदेम्बा गाउँपालिकाको केन्द्र फलाटेबजारमा स्थापित कार्यालयको सांसदहरु यज्ञराज सुनुवार,अम्बिरबाबु गुरुङ र मोहन खड्काले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा पूर्वसांसद रामहरि खतिवडा, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने सहितको उपस्थिती थियो ।


गाउँमै सेवा पाउँदा स्थानीय दंग
गाउँमै मालपोत र नापीको सेवा पाएपछि स्थानीय खुसी भएका छन् । यसअघि छिमेकी तीन जिल्ला रामेछाप, सिन्धुली र उदयपुर घुमेर सदरमुकाममा जग्गा कारोबार गर्नुपर्ने स्थानीयको बाध्यता थियो । अहिले गाउँमै सेवा सुरु भएसँगै खिजीदेम्बा र आसपासका क्षेत्रका नागरिकको त्यो बाध्यता हटेको खिजीकातीका लक्ष्मण तामाङले बताए । ‘पाँच हजारको जग्गा कारोबार गर्न पच्चिस हजार खर्च हुन्थ्यो’तामाङले भने । ‘अब गाउँमै सेवा लिन पाईयो हामी धेरै खुसी छौं ।’ कांग्रेस जिल्ला सभापति समेत रहेका स्थानीय प्रदिप सुनुवारले पनि खिजीबासीका लागि यो निकै ठुलो सफलता मिलेको बताए । सभापति सुनुवारले खिजीक्षेत्रका नागरिकको समस्या समाधान गरेको भन्दै सांसद यज्ञराज सुनुवारको प्रशंसा गरे । ‘ विकास जित्नेले गर्ने हो हार्नेले हेर्ने हो,समृद्ध ओखलढुंगा अभियानमा यज्ञजीलाई सफलता मिलोस् ।’ सुनुवारले भने । उनले अन्य विकास निर्माणका काममा पनि खिजीलाई प्राथमिकता दिन माग गरेका छन् ।


मालपोतले सेवा सुरु गरेको केही दिन नवित्दै सय जना भन्दा बढिले सेवा लिईसकेको मालपोत कार्यालय खिजीफलाटेका प्रमुख राजन दाहालले बताए । ‘हामीले सेवा सुरु गरेको केही समय नवित्दै सेवा लिनेको भिड लाग्न थालेको छ । अहिले सम्म सय जना भन्दा बढिले सेवा उपभोग गरिसक्नुभयो ।’ दाहालले भने । ‘एक लाख राजश्व पनि संकलन भईसकेको छ ।’ मालपोतसँगै नापी कार्यालयबाट उपलब्ध सेवा पनि सुरु गरिएको छ ।


सेवा प्रभावकारी बनाउन सांसदको निर्देशन
सेवा गुणस्तरीय बनाउन सांसदहरुले निर्देशन दिएका छन् । मालपोत र नापीका कर्मचारीहरु आर्थिक प्रलोभनमा पर्ने गरेकाले त्यसतर्फ नलागी सेवा प्रवाह गर्न प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले निर्देशन दिए । सुनुवारले अथक प्रयासपछि खिजीमा इलाका प्रशासन, नापी र मालपोत स्थापना गराउन सफल भएको भन्दै यसलाई सम्पत्तीको रुपमा लिएर संरक्षण गर्न स्थानीयलाई आग्रह गरे । ‘मैले मेरो दायित्व पुरा गरेँ । यो नासो तपाईहरुलाई हस्तान्तरण गरेँ अब कार्यालय टिकाउने र सेवा प्रभावकारी बनाउने जिम्मा तपाईहरुको हो ।’ कार्यालय उद्घाटन गर्दै सांसद सुनुवारले भने ।
प्रदेश सभा सदस्य अम्बिरबाबु गुरुङले सार्वजनिक सेवा प्रभावकारी बनाउन कर्मचारी र चनाखो बन्न नागरिकलाई आग्रह गरे । प्रदेश सरकारले सेवा प्रदायक निकाय र विकास निर्माणका योजनाको अनुगमन गर्न थालेको समेत सांसद गुरुङले बताए । प्रदेश सभाका अर्का सदस्य मोहन खड्काले सेवा प्रदायक निकायहरु जिम्मेवार नबन्दा नागरिकमा वितृष्णा बढेको बताए । नेकपा नेतृत्वको सरकारले नजितामुखी काम चाहेको भन्दै सरकारको लक्ष्य अनुसार सकृय बन्न निर्देशन दिए । पूर्वसांसद रामहरि खतिवडाले २ तिहाई बहुमतको सरकारले अपेक्षीत काम गर्न नसकेको टिप्पणी गरे । दुर्गममा खुलेका कार्यालयलाई सेवामा भने कुनै कसुर बाँकी नराख्न खतिवडाले पनि आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले कर्मचारी व्यवस्थापन गरेर नागरिक मैत्री सेवामा जोड दिईने बताईन् । उनले कर्मचारीहरुलाई जिम्मेवार भएर काम गर्न निर्देशन समेत दिईन् ।


खिजीफलाटेमा मालपोत र नापी कार्यालय स्थापनाका लागि करिब दुई दशक अघि नै प्रकृया अघि बढाईएको थियो । राज्यको माथिल्लो निकायसम्म त्यस क्षेत्रका नागरिकको पहुँच नपुग्दा त्यो निर्णय हुनसकेको थिएन । यज्ञराज सुनुवार पहिलो पकट २०७० सालमा सभाषद्मा निर्वाचित भएपछि त्यहाँका स्थानीयले मालपोत नापी र ईलाका प्रशासन स्थापनाका लागि पहल गर्न अनुरोध गरेका थिए । त्यो बेला जसरी खिजीमा मालपोत,नापी र इलाका प्रशासन स्थापना गराएर गाउँमै सेवा दिने यज्ञराजको बाचा पाँच वर्ष पछि पुरा भएको छ ।


यसअघि कांग्रेस र एमालेको सरकार हुँदा खिजीमा मालपोत,नापी र प्रशासन स्थापना गर्ने निर्णय भएको थियो । इलाका प्रशासनको सेवा अघिल्लो वर्ष नै सुचारु भईसकेको छ । खिजीमा बैंक नभएको र प्राविधिक कुरा मिलाउन समय लागेकाले मालपोत र नापीको सेवा केही ढिला गरेर सुरु गरिएको हो ।
तत्काल मालपोत र नापीको सेवा सुरु गराउन माग गर्दै खिजीदेम्बा ४ का अध्यक्ष कमल न्यौपाने र सांसद यज्ञराज सुनुवार गत जेठमा कृषि भूमि तथा सहकारी मन्त्रालयमा पुगेर ताकेता गरेका थिए ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen