- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. १२ मा आफुले सञ्चालन गरेको स्टेशनरी पसलमा टेलिफोन जडान गर्न सञ्जय खत्री ०७२ सालमा तीन पटक टेलिकमको कार्यालय पुगे । उनले तीनै पटक ल्याण्डलाइन टेलिफोन माग गरेका थिए । ‘टेलिफोन त क्षमतै छैन भनेर दिएनन्, निवेदन दर्ता गरेर जान्छु, वितरण हुँदा पहिलो चरणमै पाइन्छ होला भनेँ तर, अनलाइन प्रणाली आउँदैछ निवेदनको काम छैन भनेर फर्काए’ उनले भने– ‘अहिले न एडीएसएल इन्टरनेट चलाउन पाइएको छ, नत फोन नै ।’ खत्रीले अहिले पसलबाट हुने काम मोवाइबाट चलाउँदै आएका छन् ।
हुकोडन नामको संस्थाले ओखलढुंगा सदरमुकाममा कार्यालय राखेर परियोजना चलाउन ०७३ सालमा टेलिकममा लिखितै निवेदन दर्ता गरायो । तर, क्षमता नभएको भन्दै कार्यालयले नदिएपछि व्यक्तिको टेलिफोन किनेर चलाएको संस्थाका प्रतिनिधि नारायण गोपाल ढकालले बताए । ‘फोन दिए त अफिसमा मात्र होइन, काम धेरै हुन्छ, कोठामा पनि राख्न हुन्थ्यो तर, पाइँदैन’ उनले भने ।
एक वर्ष पहिले स्थानीय रेडियो भिजन एफएमले इन्टरनेट र टेलिफोन माग गर्दै टेलिकम गुहार्यो । तर, नपाएपछि घरपेटीको टेलिफोन सम्झौता गरेर सञ्चालन गरिरहेको छ । यी त उदाहरण मात्रै हुन् । नेपाल टेलिकमको ओखलढुंगास्थित कार्यालयमा एक दशकदेखि निवेदन दिएका ९ सय ग्राहकले टेलिफोन लाइन पाएका छैनन् । अहिले त ती निवेदन कहाँ छन्, कार्यालयकै कर्मचारीलाई थाहा छैन । ‘झण्डै ९ सय निवेदन थिए, केहीलाई वितरण भयो, अरु कता पुगे पत्ता छैन’ कार्यालयका कर्मचारी कुमार खत्रीले भने । कार्यालयले अहिले निवदेन नै लिन छाडेको छ । ‘वितरण नै नहुने भएपछि चार वर्षदेखि निवदेन नै दर्ता भएका छैनन् । दिने अवस्था नभएपछि किन निवदेन चाँहि लिने ?’ खत्रीले प्रश्न गरे ।
इन्टरनेटमा पनि उस्तै
ओखलढुंगामा १ हजार क्षमता रहेको ल्याण्डलाइन फोन अहिलेसम्म ७०७ लाइन वितरण भएको कार्यालयले जनाएको छ । बाँकी नेटवर्कको समस्याले वितरण हुन सकेको छैन । नेटवर्क केबल खरीद गरेर थन्किए पनि विस्तार भएको छैन । विराटनगरको क्षेत्रीय कार्यालयबाट प्राविधिक नपठाएपछि समस्या भएको कार्यालय प्रमुख राजकिशोर शाहले बताए । ‘इञ्जिनियर नभएर विस्तार र पुराना केबल विस्थापन गर्न सकिएको छैन’ उनले भने । निकै पुरानो नेटवर्कबाट वितरित फोन बेलाबेला आउने जाने र इन्टरनेट अबरुद्ध भइरहने समस्या छ ।


फोन मात्र होइन इन्टरनेट माग्ने सयौं ग्राहकहरुले पाउन सकेका छैनन् । १ हजार एमविपिएस प्रतिसेकेन्ड गतिको एडिएसएल इन्टरनेटको लाइन ३ सय ५ लाइन वितरण भएको छ । थप माग्ने एक जनालाई पनि दिन नसकिने कार्यालयले जनाएको छ । व्याण्डविथको कमीले अहिले पुराना ग्राहकबाट नियमित शुल्क मात्रै उठाइरहेको छ । वितरण भएका फोन र इन्टरनेट सेवा पनि दैनिक अबरुद्ध हुने गर्छन् । उपकरण, केवल पुराना भएर समस्या आएको भन्दै कार्यालय पन्छिने गरेको छ ।
क्षेत्रले सुन्दैन जिल्लाका गुनासा
विटानगरस्थित क्षेत्रीय कार्यालयले जिल्लाको समस्या नसुनेको जिल्लास्थित शाखा कार्यालयको गुनासो छ । ल्याण्डलाइन फोनको नेटवर्क विस्तार र पुरानो विस्थापनका लागि केबल खरिद गरेर कार्यालयले केबुल खरिद गरेको महिनौं वितेपनि काम शुरु भएको छैन । इञ्जिनियर नभएर समस्या आएको कार्यालयको भनाइ छ । ‘हामीले पटक पटक इञ्जिनियर पठाउन माग गरेपनि सुनुवाइ भएन, आफै गएर ध्यानाकर्षण गराउँछु’ प्रमुख शाहले भने– ‘नेटर्वक विस्तर र पुराना विस्थापन नगरि ग्राहकको माग सम्बोधन गर्ने ठाउँ नै छैन ।’
एक दशकदेखि टेलिकमप्रति नागरिकको गुनासो उस्तै भए पनि सम्बोधन गर्न सकेको छैन । जिल्लाका अन्य स्थानमा निर्माण भएका टेलिकमका टावरका काम समेत धेरै अलपत्र अवस्थामा छन् ।
जनप्रतिनिधिका गुनासैगुनासा
टेलिकमको सेवाप्रवाह प्रभावकारी नहुँदा स्थानीय सरकारका जनप्रतिनिधिहरुको गुनासो जताततै सुनिन थालेको छ । चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले मोबाइल नेटवर्क घामले आँखा झिम्क्याउनेबित्तिकै हिँड्ने गरेको गुनासो गरे । ‘ओखलढुंगाको टेलिकमको सेवा त यति थर्डक्लास भइसक्यो,’ उनले भने, ‘चिशंखुगढी गाउँपालिकाले जनताले यसको सास्ती भोग्न थालेका छन् ।’
खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाको गुनासो पनि उस्तै छ । ‘हाम्रोमा त मोबाइलको नेटवर्क नै कस्तो हुन्छ भन्ने अवस्था छ,’ उनले भने ।
फोन गर्न डाँडाडाँडा दगुर्नुपर्ने भएकाले त्यहाँका जनप्रतिनिधिहरुको फोन लाग्नै मुश्किल हुने गरेको छ । यसले गर्दा मन्त्रालयबाट गाउँपालिकामा आउने परिपत्रसमेत थाहा हुन गाह्रो छ । यस्तै, सुनकोसी गाउँपालिकाको केन्द्र मूलखर्कमा पनि मोबाइल फोन सेवा टिप्दैन । ‘हाम्रो केन्द्रमा त टेलिफोनका नेटवर्क नै टिप्दैन,’ गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले भने, ‘टेलिफोन नेटवर्क नटिप्दा साह्रै समस्या भइरहेको छ ।’
जिल्ला र क्षेत्रका कुरै मिल्दैनन्
क्षमता विस्तार फोन तथा इन्टरनेट विस्तार नभएको विषयमा नेपाल टेलिकम विराटनगरका निमित्त निर्देशक सुरज घिमिरेले जिल्लाले भनेजस्तो समस्या नभएको भन्दै नेटर्वक विस्तारका लागि केबल नै नभएको दावी गरे । यद्यपी ओखलढुंगामा केबल भने ढुवानी भइसकेको र विस्तारका लागि क्षेत्रबाट प्राविधिक नपाठाएको जिल्लास्थित कार्यालयले जनाएको छ । घिमिरेले इन्टरनेट विस्तरका लागि ओखलढुंगामा ब्याण्डविथको समस्या पनि नरहेको दावी गरे । तर, उनले इन्टटरनेट सेवा विस्तार हुन नसकेको कारण भने खुलाएनन् । जिल्लाले भने इन्टरनेट वितरणका लागि मुख्य समस्या व्याण्डविथको समस्या रहेको बताउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

राजकुमार मगरको ‘सुनकोशीको पुल’ बजारमा Download Listen
अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen