- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाको सुनकोशी गाउँपालिकाले गाउँपालिका भित्रका ७२ जना महिला स्वास्थ्य स्वयं सेविका र ५० जना जेष्ठ नागरिकहरुलाई नगद सहित सम्मान गरेको छ । महिला स्वयंसेविकालाई जनही १५ हजार, सम्मान पत्र र दोसल्ला तथा जेष्ठ नागरिकलाई जनही पाँच हजार रकम सहित सम्मान गरेको हो ।


गाउँमा बसेर दुर्गम गाउँका नागरिकलाई स्वयंसेवी रुपमा स्वास्थ्य सेवा प्रवाह गरेका स्वयंसेवीकाहरुलाई प्रोत्साहन गर्न सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । ‘राम्रो काम गर्नेलाई सम्मान र गलत काम गर्नेहरुलाई दण्डीत गर्ने गाउँपालिकाको अभियान अन्तरगत गाउँमा रहेर निशुल्क र निश्वार्थ स्वास्थ्य सेवा दिने स्वयं सेविकालाई सम्मान गरेका हौं ।’ यस्ता कार्यक्रमलाई थप निन्तरता दिने भन्दै अधिकारीले भने‘ सडक खनेर मात्रै समृद्धि आउँदैन भन्ने हाम्रो ठम्याई हो,त्यसैले समृद्धिका लागि सबै अभियानहरु एक साथ अघि बढाईरहेका छौं ।’ जेष्ठ नागरिकको सम्मान गर्ने र उनीहरुको अनुभव आदान प्रदान गरेर गाउँपालिकाको समृद्धिमा योगदान पुर्याउन जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको अध्यक्ष अधिकारीको भनाई छ ।


गाउँपालिकाका १० वटै वडाबाट पाँच जना जेष्ठ पुरुष, पाँच जना महिला, पाँच जनजाति, पाँच जना महिला र पाँच जना अपांगताभएका मध्ये जेष्ठलाई छनोट गरेर सम्मान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार बजगाईँले जानकारी दिए । जनप्रतिनिधिहरुले पहिलो गाउँसभामा स्वयं सेविका र जेष्ठ नागरिकहरुको योगदानको कदर गर्नुपर्ने प्रस्ताव ल्याए अनुसार कार्ययोजना बनाएर काम अघि बढाईएको उनले सुनाए । केही दिन यता वडा वडामा पुगेर स्थानीय सरोकारवालाहरुसँग विकासका बारेमा बहस गर्दै सम्मान कार्यक्रमलाई अभियानात्मक रुपमा सन्चालन गरिएको सुनकोशी गाउँपालिकाले जनाएको छ ।

सम्मानले खुसी दिलायो अनि हौसला बढायो
सम्मान पाएपछि सुनकोशी गाउँपालिकाका महिला स्वास्थ्य स्वयं सेविका र जेष्ठ नागरिक खुसी भएका छन् । १७ वर्षदेखि महिला स्वास्थ्य स्वयं सेविकाको काम गर्दै आउनुभएकी मुलखर्ककी पुकमति तामाङले आफु सेवा अवधिमा सबैभन्दा खुसी भएको बताईन् । ‘आज म जीवनमै सबै भन्दा बढि खुसी छु ।’ उनले भनिन् ‘मैले काम गरेको १७ वर्षमा पहिलो पटक हाम्रो कामको मूल्याङ्कन भएको महसुस गरेकी छु ।’
पुकमति जस्तै सम्मानित सबै ७२ जना महिला स्वास्थ्य स्वयं सेविकाले खुसी व्यक्त गरेका छन् । स्थानीय सरकारको योजना र कार्यक्रम स्वागत योग्य रहेको भन्दै थप जिम्मेवार भएर काम गर्ने उनिहरुले बचन दिएका छन् । ‘काम चाँही स्वास्थ्यकर्मीको भन्दा बढि गर्नुपर्छ सेवा सुविधा चाँही कहिलेकाहीँ खाजा खर्च मात्रै आउँथ्यो,अब त पालिकाले हाम्रो कामको मुल्याङ्कन गर्न थाल्यो ।’ स्वयं सेविका मनिसा तामाङले भनिन् ‘अब हामी झन धेरै काम गरेर यो गाउँको स्वयं सेविका नमुनाका छन् भन्ने देखाउँछौं ।’


सम्मान पाएपछि जेष्ठ नागरिकहरु पनि खुसी भएका छन् । समुदाय प्रतिको आफुहरुको योगदानलाई स्थानीय सरकारले सम्झीएको गरेको उनिहरुको प्रतिक्रिया छ ।
एक नगरपालिका र सात गाउँपालिका रहेको ओखलढुंगामा यसरी गाउँसभाबाट बजेट तथा निति कार्यक्रम नै पास गरेर अभियानात्मक सम्मान कार्यक्रम गर्ने सुनकोशी गाउँपालिका पहिलो र यस वर्षको एक मात्रै स्थानीय सरकार हो ।

सम्मानमा सकियो १३ लाख ३० हजार
सुनकोशी गाउँपालिकाको चालु आर्थिकवर्षको बजेटको करिब १४ लाख रुपैयाँ महिला स्वास्थ्य स्वयं सेविका र जेष्ठ नागरिक सम्मानमा सकिएको छ । ७२ जना स्वयं सेविकालाई १५ हजारका दरले वितरण गर्दा १० लाख ८० हजार सकिएको छ भने ५० जना जेष्ठ नागरिकलाई ५ हजारका दरले वितरण गर्दा २ लाख ५० हजार सकिएको छ । यसको जम्मा १३ लाख ३० हजार हुन आउँछ ।

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen