- भिजन समाचार

ओखलढुंगा- निजामती कर्मचारी ट्रेड युनियन ओखलढुंगाका अध्यक्ष राजन दाहाल आमा, बाबु नभएकी एक बालिकाको अभिभावक बनेका छन् । कर्मचारीको आधिकारीक ट्रेड युनियन अध्यक्ष दाहाल अभिभावक नभएका कारण अध्ययानमा समस्या झेलिरहेकी जिल्लाको सिद्धिचरण नगरपालिका २ निवासी मुना घतानीको अभिभावक बनेका हुन् । विद्यार्थी भर्ना अभियानका क्रममा बुधबार तलुवा स्थित रक्तमाला आधारभुत विद्यालयमा पुगेर अध्यक्ष दाहालले घतानीको भर्ना गराएका छन् । उनले यसवर्षका लागि आवश्यक विद्यालय पोशाक, शैक्षिक सामाग्री र खाजा खर्चका लागि नगद ६ हजार दुई सय रुपैँया हस्तान्तरण गरेका छन् ।
राज्यको भर्ना अभियान अन्तरगत मुना घतानीको अभिभावकत्व ग्रहण गरेको जानकारी दिँदै अध्यक्ष दाहालले निरञ्तर उनको अध्ययानमा सहयोग गर्ने बताए । ‘राज्यले सुरु गरेको अभियानमा हामी कर्मचारीहरुले पनि हात्तेमालो गर्नुपर्छ भनेर मुनाको अभिभावक बनेको छु ।’ दाहालले भने ‘निरञ्तर उनको पढाईका लागि म सहयोग गर्छु ।’ आर्थिक अभावकै कारण विद्यालय जान नपाएका बालबालिकालाई सबैले सक्दो सहयोग गर्नुपर्ने उनले बताए । विधालयमा भर्ना भएका बालबालिकालाई टिकाई राख्न र गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालय र स्थानीय सरकारले योजना बनाएर अघि बढ्नुपर्ने उनको जोड थियो ।


बुबाले आत्महत्या गरेको केही महिना नबित्दै करेन्ट लागेर आमाको मृत्यू भएपछि मुना अहिले हजुरआमासँग छिन् । सहयोग पाएपछि खुसी हुँदै मुनाले भनिन् ‘मेरो बाबा, ममी हुनुहुन्न, म हजुरआमासँगै बस्छु,यो पैसाले कपि किन्छु अनि धेरै पढ्छु ।’ मुनाले यसो भनिरहँदा निकै भावुक देखिएका अध्यक्ष दाहालले उनको अध्ययानका लागि सँधै सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् ।
रक्तमाला आधारभुत विद्यालयमा बुधबार आर्थिक अभावका कारण विद्यालय जान बाट बन्चित अति विपन्न परिवारका नौ जना बालबालीकाहरुलाई भर्ना गरिएको छ । कर्मचारी ट्रेड युनियन ओखलढुंगाका उपाध्यक्ष निलकमल निरौलाले स्थानीय मदन चर्मकारलाई यो बर्षको लागि आवश्यक विद्यालय पोशाक,शैक्षिक सामाग्री र खाजा खर्चका लागि ६ हजार एक सय रुपैयाँ प्रदान गरेका छन् । त्यसैगरी नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रदेश नम्बर एक का सहकोषाध्यक्ष तथा डिएल पिआई यु ओखलढुंगाका लेखापाल राजिप रम्तेलले स्थानीय सुदिक्षा चर्मकारलाई यो बर्षको लागि नगद ६ हजार एक सय रुपैँया प्रदान गरेका छन् ।

भर्ना अभियान कार्यक्रमकै अवसरमा स्वयमसेवी कार्य प्रतिष्ठान नेपालले उक्त विद्यालयमा अध्ययानरत अति बिपन्न परिवारका ६ जना विद्यार्थी हिमाल बैरागी, मिलन थापामगर, हस्त बहादुर आले, डम्बर थापमगर, शुसिला बिक र चिनीमाया आलेलाई आवश्यक विद्यालय पोशाक र शैक्षिक तथा खेलकुद सामाग्री प्रदान गरेको छ । स्वयमसेवी प्रतिष्ठानका अध्यक्ष राजन खड्काले संस्थामा आबद्ध ६ जना सदस्यहरुले व्यक्तिगत रुपमा समेत विपन्न बालबालिकाको पढाईमा सहयोग गरेको बताए । राज्यले सुरु गरेको अभियानमा सहयोग गरिएको उनको भनाई थियो ।
दलित बस्तिको केन्द्रमा रहेको रक्तमाला आधारभुत विद्यालय कक्षा सात सम्म सञ्चालन भईरहेको छ । १४ जना विद्यार्थी बाट २०७० सालमा स्थापना गरिएको विद्यालयमा अहिले २ सय बिस जना विद्यार्थी अध्ययानरत रहेको प्रध्यानाध्यापक दिपक फुयालले बताए । निजि स्रोत बाट सञ्चालनमा रहेको विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको उनले दावी गरे । कर्मचारी युनियन र मातहतका कर्मचारीहरुले अभिभावकत्व ग्रहण गरेर विपन्न समुदायका बालबालिकालाई गरेको सहयोगले शैक्षिक विकासमा थप टेवा पुगेको उनले बताए ।


यसअघि जिल्लामा प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले टोक्सेलका बिमल माझीको अभिभावकत्व ग्रहण गर्दै भर्ना अभियान सुरु गरेका थिए । अहिले जिल्लाभर भर्ना अभियान चलिरहेको छ ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen