- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- ओखलढुंगाका स्थानीय सरकारका प्रमुखहरुले चुनौतीका बिच पनि समृद्धिको अभियान चलाईरहेको दावी गरेका छन् । भिजन समाचारसँग कुरागर्दै जिल्लाका १ नगरपालिका सहित सातवटै गाउँपालिकाका प्रमुखहरुले चुनौतीका बिच पनि आ आफ्नो क्षेत्रमा विकास र रुपान्तणका कामहरु गरिरहेको दावी गरेका हुन् ।

नागरिक तहबाट जनप्रतिनिधिले अपेक्षित काम गर्न नसकेको भनेर आलोचना गरिरहेको अवस्थामा स्थानीय सरकारका प्रमुखहरुले भने जनपक्षिय काम गरिरहेको दावी गरेका हुन् । निर्वाचित भए पश्चात तपाईको नेतृत्वमा भएको एउटा मात्रै नमुना काम के हो ? भनेर जिल्लाका सबै स्थानीय तहका प्रमुखहरुलाई भिजनले गरेको प्रश्नमा उनिहरुले धेरै कुरा गरेपनि साँच्चै नमुनाको काम भने प्रस्तुत गर्न सकेनन् ।

‘खास नमुनाकै काम त केही गर्न सकिएको छैन,उहि नियमीत कामहरु भईरहेका छन्’ मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले भने ‘पालिकाको कानुन बनाउने देखि केही केही नगरि नहुने कामहरु गरिँदैछ ।’ उनका अनुसार सडक निर्माण र विद्युतको विकास लगायतका योजनालाई मानेभञ्ज्याङ गाउँपालिकाले प्राथमिकता दिएको छ ।

‘तीन सय किसानको खेतबारीको माटो परिक्षण गरियो,अब आवश्यकता अनुसार कृषिमा लगानी गरिन्छ’ खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष वेदबहादुर रोकाले भने ‘अनेकौं चुनौतीका बावजुत पनि नागरिकको चाहाना अनुसार हामीले काम गरिरहेका छौं ।’ उनका अनुसार कृषि र पशुको विकासमा सम्भाव्यता अध्ययान गरेर लगानी बढाउने र पर्यटन प्रवद्र्धन सँगै जडिबुटीको संरक्षण लगायतका विषयलाई खिजीदेम्बा गाउँपालिकाले प्राथमिकता दिएको छ ।
भिजन समाचारसँग कुराकानी गदै चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले आर्थिक,भौतीक र नितिगत थुप्रै समस्याका बिच पनि आफुहरुले काम गरेको बताए । ‘केही नभएको अवस्थामा सिस्टम बसालेर काम सुरु गरिएको छ,अब नमुनाका कामहरु विस्तारै देखिन्छन् ।’ उनले भने ‘चिशंखुगढी गाउँपालिकाका करिब करिब सबै टोलमा सडक सञ्जाल पु¥याईएको छ, यो अहिले सम्मको अलि बढि उपलब्धिको विषय हो ।’ उनका अनुसार भौतिकसँगै शैक्षिक विकास र स्वास्थ्य सेवालाई चिशंखुगढी गाउँपालिकाले प्राथमिकता दिएको छ । चिशंखुगढी गाउँपालिकाले विद्युतीय हाजिरी अनिवार्य गरेको छ पालिकाभित्र सडक मापदण्ड लागु गरेको छ ।
‘स्वास्थ्य संस्थामा औषधी र स्वास्थकर्मीको व्यवस्थापन गरियो,शिक्षामा सुधारको अभ्यास थालेका छौं’ मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राईले भने ‘शिक्षा, स्वास्थ्य, विद्युत र सडकको विकासमा हामी केन्द्रित छौं ।’ उनका अनुसार सडक र विद्युतको विकासलाई मोलुङ गाउँपालिकाले प्राथमिकता दिएको छ ।
‘सफा र स्वच्छ नगर निर्माणको अभियान चलाईएको छ’ सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले भने ‘नगरका सबै टोलमा सडक पु¥याईएको छ, यिनै कामहरु नमुना हुन सक्छन् ।’ माग र आवश्यकताका आधारमा कामहरु भईरहेको र त्यसको नतिजा देखिनेक्रम सुरु भएको उनको भनाई छ । उनका अनुसार भ्यूटावर, नगर प्रवेश गेट लगायतका संरचना निर्माण गरेर पर्यटन प्रवद्र्धनको योजनालाई सिद्धिचरण नगरपालिकाले प्राथमिकता दिएको छ ।
‘प्रशासनिक र विकासका कामहरु गरिँदैछ,गाउँ पालिकाका लागि जग्गा व्यवस्था गरियो’ लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द पौडेलले भने ‘माथिल्लो निर्देशन नआएकाले समस्या छ तर पनि केही कानुनहरु बनाएर काम थालेका छौं ।’ आफ्नो नेतृत्वमा भएको काममा आफैं पूर्णरुपमा सन्तुष्ट नभएको उनले बताए । उनका अनुसार शिक्षा, स्वास्थ्य र आर्थिक ऐन निर्माण तथा कर्मचारी नियमावली लिखु गाउँपालिकाले काम अघि बढाएको छ ।
जिल्लाको सुनकोशी गाउँपालिकाले नागरिक लक्षित कामहरु गरेको सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए । ‘स्वास्थ्य,शिक्षा र नागरिकको जनजिवीकासँग जोडिएका सवालमा थुप्रै कामहरु सुरुवात गरेका छौं’ उनले भने ‘अहिले सम्म धेरै कामहरु भएका छन् अब उपलब्धि एक पछि अर्को देखिन्छन् ।’ नियमित कामसँगै गाउँपालिकाको लागि जग्गा प्राप्त गरिएको लगायतका उपलब्धि मुलक कामहरु भएको उनको भनाई छ । सुनकोशी गाउँपालिकाले आफ्नै तयारी र व्यवस्थापनमा कक्षा ८ को परीक्षा समेत सञ्चालन गरेको छ । लक्षित वर्गको हितमा सामाजिक सुरक्षा भत्ता सहितका सेवामा नमुना काम गरेको अध्यक्ष अधिकारीले दावी गरे । अन्य पालिकाको भन्दा रचनात्मक काम सुनकोशी गाउँपालिकाले गरेको उनको दावी छ । चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले अरु स्थानीय तहको भन्दा बढी उपलब्धि मुलक काम गरेको दावी गरे । ‘अरुको भन्दा धेरै बढी काम चम्पादेवीमा भएको छ ।’ उनले भने ‘गाउँ गाउँमा सडक निर्माण र घरघरमा धारा र धारामा खानेपानीको पु¥याउने हाम्रो अभियान जारी छ ।’ निर्वाचनको समयमा गरेका बाचा अनुसार काम गरिरहेको अध्यक्ष केसीले दावी गरे ।


प्रदेशले कानुन बनाएर पठाएपछि थप शसक्त भएर काम गर्ने ओखलढुंगाका स्थानीय सरकारका प्रमुखहरुको धारणा छ ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen