- पूर्णप्रसाद न्याैपाने

ओखलढुंगा- सिद्धिचरण नगरपालिकालाई सफा र स्वच्छ बनाउने अभियानमा जुट्न नगर प्रमुख मोहन कुमार श्रेष्ठले आवहन गरेका छन् । जिल्लाका उद्योगी,व्यवसायीलाई विहिबार कार्यालयमै बोलाएर प्रमुख श्रेष्ठले नगरको सरसफाईमा ध्यान दिन आग्रह गरेका हुन् ।

नगर कार्यपालिकाको कार्यालयमा उद्योग वाणिज्य संघ र होटल व्यवसायि संघका पदाधिकारी बिच भएको अन्तरक्रियामा बोल्दै नगर प्रमुख श्रेष्ठले समृद्धिको पहिलो पाईला सरसफाई बाट सुरु हुने भन्दै स्वच्छ नगर निर्माणमा जुट्न आग्रह गरे । ‘हाम्रो नगरमा सरसफाईको कामलाई प्राथमिकता दिनुुपर्ने देखियो’ श्रेष्ठले भने ‘होटल र पसलबाट निस्कले फोहोर मात्रै व्यवस्थापन गर्न सकियो भनेपनि धेरै राम्रो हुन्छ ।’ व्यक्ति वा संस्थाले मात्रै सरसफाई गरेर नहुने भन्दै सबैले आफ्नो घर आँगन वरपर सफा राख्नुपर्ने उनले बताए । नगर प्रमुख श्रेष्ठले आफ्नो अबको योजना नगरपालिका सुन्दर र शान्त बनाउने रहेको बताए ।

उनले नगरपालिकाले खाका तयार गरेर नगरक्षेत्रका स्थानीय सरोकारवााल निकायसँग सहकार्य गर्दै अगाडी बढ्नेमा जोड दिए । उनले नगरपालिकामा लगलगेमा भ्युटावर र विरेन्द्र पार्क नजिकै स्तुपा निर्माण गर्ने योजना तत्काल अघि बढाउने बताए । नगरलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने नगरपालिकाको योजनामा हात्तेमालो गर्न श्रेष्ठले सबैलाई आवहन गरे । उद्योगी,व्यवसायी र नगरपालिकाका पदाधिकारीहरु बिच भएको अन्तरक्रियामा नगरपालिका भित्रको फोहोर मैलाको उचित व्यबस्थापन, सडक अबरोध हुन नदिने उपाय, साघुरो सडक फराकिलो बनाउने, हाटबजार व्यबस्थापन, भवन तथा सडक मापदण्ड व्यबस्थित गर्ने,कच्चि सडकको धुलो, हिलो एंब खाल्टा खुल्टी व्यबस्थापन, नगरपालिकाको आगामी दिनको योजना, बजार क्षेत्रमा खानेपानि तथा ढलको व्यबस्थापन, सार्बजनिक स्थलमा राखिएका निर्माण सामाग्रीहरुको व्यबस्थापन सँगै नगरपालिकालाई कसरी व्यवस्थित र समृद्ध बनाउने भन्ने बिषयमा छलफल भएको थियो । 

कार्यक्रममा नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङ्गले आफ्नो सरसफाईमा व्यतिm आफैँ लाग्नु पर्ने बताईन् । नगरपालिकाले सरसफाईका लागि संयन्त्र निर्माण गरेर अघि बढेको भएपनि स्थानीयको जागरुकता कम देखिएको उनको भनाई थियो । नगर क्षेत्रका विभिन्न स्थानमा टोल सुधार समिती गठन भईसकेकाले त्यसलाई सक्रिय बनाएर अगाडी बढ्न वडा अध्यक्ष र स्थानीय अगुवाहरुलाई उनले आग्रह गरिन् । सबै मिलेर मात्रै नगरपालिकालाई सुन्दर बनाउन सकिने उनको भनाई थियो ।

अन्तरक्रियामा सहभागी उद्योगी र व्यवसायीहरुले नगरपालिकालाई सुन्दर र सफा बनाउन सक्दो पहल गर्ने  प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत, वडा अध्यक्ष, उधोग वाणिज्य संघका पदाधिकारी, होटल व्यबसायी संघका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । युगकवि सिद्धिचरण श्रेष्ठले मेरो पियारो ओखलढुंंगा कविता मार्फत स्वच्छ र समृद्ध नगरको परिकल्पना विगतमै गरेको भएपनि उनले परिकल्पना गरेको जस्तो नभएको यहाँ आईपुग्ने पर्यटकहरुले बताउने गरेका छन् ।

सदरमुकाम बजार क्षेत्र भित्रको अव्यवस्थीत पार्किङ, निर्माण सामाग्री बिच सडकमै यत्रतत्र राखिएको र फोहोर व्यवस्थापन समेत गर्न नसकेको भन्दै यहाँका जनप्रतिनिधिको आलोचना हुने गरेको छ । यता सिद्धिचरण नगरपालिकाले भने यो अवस्थालाई सुधार गर्न अभियानात्मक रुपमा लागिएको दावी गरेको छ ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen