- संगिता अधिकारी

ओखलढुंगा- ओखलढुंगाको खिजीदेम्बा ४ कातीगाउँकी कविता सार्कीका श्रीमान बिख्रबहादुर सार्की सात वर्षदेखि कतारमा काम गर्दैछन् । श्रीमानले सामान्य घरखर्च पठाए पनि बालबच्चा हुर्काउने र पढाउने देखि घर व्यवहार सम्हाल्ने र सामाजिक दायित्व निर्वाह गर्ने काम कविता गर्छिन् ।
उनी भन्छिन् ‘नानीहरु हुर्काएँ । पढाउन थालेको छु । अहिले सम्म त गाउँ समाजका सबै काम भ्याउँदैछु । सुरु सुरुमा त म एक्लैले घर र समाजको जिम्मेवारी कसरी सम्हालुँला भन्ने डर थियो तर अब बानी भईसकेँ ।’
कवितालाई आप्mनो घरको धन्दा देखि गाउँमा हुने विकास निर्माणसम्बन्धी छलफल र समुहको बैठक पुग्न भ्याई नभ्याई हुन्छ ।
ओखलढुंगाका धेरै महिलाको अवस्था कविताकै जस्तो छ । यहाँका अधिकांश यूवा रोजगारीका लागि अन्यन्त्र गएपछि गाउँहरु यूवा विहिन भएका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाको तथ्याङ्क अनुसार विगत तीन वर्ष यता मात्रै १५ हजार भन्दा बढीले राहदानी बनाएका छन् ।


चालु आर्थिक वर्षमा दैनिक १० देखि २५ जनाले जिल्ला प्रशासनबाट राहदानी बनाउने गरेको तथ्याङ्कले देखाउँछ ।
राहदानी लिनेमध्ये अधिकांश पुरुष कामका लागि विदेश जान्छन् । ‘राहदानी बनाउन आउने सबैलाई कुन प्रयोजनका लागि भनेर हामी सोध्छौं । केहीबाहेक सबै रोजगारीका लागि खाडी मुलुक जाने गरेको पाइयो,’ प्रमुख जिल्ला अधिकारी जनराज पन्त भन्छन्
‘नागरिकता बनाउने मध्ये अधिकांश युवाले सोही दिन राहदानी सिफारीस लिने गरेको प्रजिअ पन्त बताउँछन् ।
युवा विशेषगरी पुरुष नभएपछि यसअघि पुरुषले मात्र गर्ने गरेका काम महिलाले गरिरहेका छन् । कतिपयले आप्mनै व्यवसाय चलाएर अरु महिलालाई रोजगारी समेत दिएका छन् । पुरुष नहुँदा परिवार चलाउने देखि गाउँमा हुने विकास निर्माण र सार्वजनिक सरोकारका विषयमा छलफल गरी निर्णय गर्ने काम पनि महिलाले नै गर्दै आएका छन् ।

‘यहाँका महिलाहरु जुनसुकै काममा सकृय र जिम्मेवार भएर लागि रहनु भएको छ,’ जिल्ला स्तरीय आमा समुह सञ्जालकी सदस्य सरस्वती कट्वाल भन्छिन् ‘महिलाले गरेका धेरै कामहरु उदाहरणीय छन् ।
पाँच वर्ष पहिले साविक कुन्तादेवी गाविसमा सडक बनाउने समितिको अध्यक्ष को हुन भनी पुरुष बिचमा ठुलो विवाद भए पछि काम अघि बढ्न सकेन । त्यसपछि निर्मला वाग्लेको अध्यक्षतामा बनेको सडक निर्माण समितिले विना विवाद कुन्तादेवी–मान्द्रेदोभान सडक समयमै बनायो । त्यही बेलादेखि जिल्लामा सडक निर्माणमा समान कामको समान ज्यालाको नीति लागू भयो ।
जिल्लाको सदरमुकाम बजारमा अम्बिका श्रेष्ठ सहितका महिलाको नेतृत्वमा मन्दिर बन्यो ।
खिजीदेम्बा ४ कि वडाध्यक्ष आङपसि शेर्पा अहिले नमुना वडा अध्यक्ष भनेर चिनिन्छिन् । गाउँपालिकाको पहिलो गाउँसभाबाट विनियोजन भएको बजेटबाट गाउँमा सडक निर्माण गरेर गाउँपालिकालाई सदरमुकामसम्म जोड्ने काम उनकै नेतृत्वमा भयो ।
महिलाको सकृयतामा यस्ता थुप्रै काम भएका छन् ।
पुरुष मात्रले गर्ने भनिएका काम पनि ओखलढुंगाका महिलाले गर्न थालेका छन् । अधिकांश गाउँका महिला आफैं गोरु नारेर खेतबारी जोत्छन् । ‘बुढा मलेसियामा छन्, छोराहरु शहरमा बसेर पढ्छन्, गाँउको खेत बाँझो राख्न मिलेन । म आफैं जोत्दैछु’ लिखु गाउँपालिकाकी धनकुमारी सुनुवारले भनिन् । शुरुमा उनले हलो जोतेको देखेर गाउँका सबैले खिल्ली उढाउँथे । अहिले अरुले पनि उनको सिको गरेका छन् ।
गाउँमा कोही मान्छे मरेमा मलामी जान समेत यूवा पाइँदैनन् । तर यहाँका महिलाहरुले महिला मलामी जान नहुने भन्ने पुरानो परम्परा पनि तोडेका छन् । बलखुकी उर्मीला राईले भनिन् ‘पहिले–पहिले महिलाहरु मलामी जानुहुँदैन भन्ने चलन थियो तर अहिले महिला नै अघि नसरी हुँदैन ।’


मलामी जाने मात्रै होईन बाबु आमाको काज किरीया समेत छोरीहरुले गर्न थालेका छन् । ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले गएको मंसिरमा आप्mना बुबाको किरिया गरिन् । उनका दाजुभाइ थिएनन् । ठुलो बुबा, काका पनि गाउँमा नभएपछि इन्दीराले त्यसो गरेकी हुन् ।

२०७२ सालको भूकम्पले महिलाको काँधमा झन् ठूलो जिम्मेवारी थपिदिएको छ । भूकम्प पछि अस्थायी बसोबासको चाँजोपाँजो मिलाउन लागि परेका महिलाहरु अहिले घर बनाउन जुटेका छन् । ओखलढुंगामा भूकम्प पछि २ हजार ३ सय जनाले घर बनाउने तालिम लिएकोमा ९ सय ६० जना महिला थिए । सिकर्मी, डकर्मी तालिम लिएर उनीहरु अहिले घर बनाउँदैछन् ।


‘काम पनि सिकियो, घर पनि बनाईयो,’ प्राप्चाकी दिपा फुयालले भनिन् । ‘यहाँका महिलाहरुको जोश र जाँगर एकदमै रहर लाग्दो छ, महिला अघि बढेकैले पुनर्निर्माणले गति लिएको छ,’ पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख युवराज खरेलले भने । भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये ओखलढुंगा सबैभन्दा बढि प्रगति भएको जिल्ला भएको प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।
जिल्ला, गाउँपालिका र गाँउमा रहेका आमा समुहका सञ्जालमा हरेक महिना बैठक बस्ने, चेतनामुलक कार्यक्रम चलाउने, महिलाहरुलाई विभिन्न खाले स्वास्थ्य तथा सरसफाई र सिपमूलक तालिम दिने लगायतका काम महिलाकै नेतृत्व र सहभागितामा हुने गरेका छन् ।

गाउँगाँउमा रहेका महिला तथा आमा समुह र अन्य समुहमा आवद्ध भएर महिला सक्रिय भएकाले राज्यले सञ्चालन गरेका कार्यक्रममा टेवा पुगेको गाविस (हालको वडा) सचिव तथा सचिव हकहित संरक्षण केन्द्रका केन्द्रीय सदस्य ईश्वर ढुंगानाले बताए ।

२०६४ सालमा ओखलढुंगाको खिजीचण्डेश्वरी गाविसमा पहिलो पटक आमा समुह गठन भएको थियो । अहिले जिल्लाभर सबै गाउँ टोलमा गरेर ८० भन्दा बढी समुह छन् । ती समुहमा जिल्लाका ९९ प्रतिशत महिला आवद्ध भएको महिला विकास कार्यालयको तथ्याङ्कले देखाउँछ । समुह र समितिमा आवद्ध भएपछि महिलाहरुमा समस्या केन्द्रित छलफल गर्ने र सम्पती बचत गर्ने बानी बसेको छ ।
महिला विकास कार्यालयका निमित्त प्रमुख सरीता तामाङ भन्छिन्, ‘महिलाहरु विभिन्न समुहमा आवद्ध हुनुहुन्छ । उहाँहरुले आफ्ना समस्याबारे खुलेर गर्नुहुन्छ र समाधान पनि खोज्नुहुन्छ ।’ ओखलढुंगाका आमा तथा महिला समुहहरु प्रजनन स्वास्थ्य, हिंसा र अन्य विकास निर्माणका विषयमा पनि छलफल गर्ने थलो भएका छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen