- पूर्णप्रसाद न्याैपाने / भुवन श्रेष्ठ

ओखलढुंगा- ओखलढुंगाको मानेभञ्याङ्गका माम्फे मगर हलि (खेतबारी जोत्ने) को काम गर्छन् । उनि अहिले ६२ वर्षका भए । आफ्नो उमेरको करिब १२ वर्ष देखि यो काम थालेको बताउने उनि अहिले पनि त्यो गाउँका निकै विश्वासीला हलिमा गनिन्छन् । चार दशक भन्दा लामो समय हलिको काम गर्दै आएका माम्फे गाउँमा ट्याक्टरले धमाधम जोत्न थालेपछि दंग छन् । ‘सबैले मलाई बलियो र सिपालु छ जोत्ने काममा भन्थे’ उनि आफ्नो काम सम्झँदै भन्छन् ‘यो माल त गज्जबको रहेछ, हामी मान्छेले गर्ने भन्दा धेरै र छिटो पनि गर्ने देखियो ।’ माम्फे जस्ता धेरै स्थानीयहरु गाउँमा पहिलो पटक ट्याक्टरले बारी जोत्न थालेपछि दंग परेका हुन् ।

गाउँमा कामदार नपाउने समस्या बढेपछि स्थानीयले समान ढुवानी गर्ने ट्याक्टरको पछाडिको भाग (ढाला) निकालि पावरटिलर जोडेर जोत्ने काममा प्रयोग गरेका हुन् । ‘पहिले पहिले गाँउमा कस्का ठुला र बलिया गोरु छन्,कुन हलि बलियो भनिन्थ्यो, र जो सँग हल गोरु र हलि छन् उसैलाई गाउँको हुनेखाने कहलिन्थ्यो’ स्थानीय चित्रकुमार श्रेष्ठ भन्छन् ‘अब प्रविधिको विकासले हाम्रो गाउँलाई पनि समेट्यो ।’ मानेभञ्याङ्ग गाउँमा पहिलो पटक ट्याक्टरले बारी जोत्न थालेपछि हेर्नेको भिड लाग्ने गरेको छ ।
रोजगारीका लागि पुरुषहरु विदेश पलायन हुने र गाउँमा भएका युवाहरुले पनि खेतबारी जोत्न नमान्ने समस्या अब समाधान हुने तिल्पुङ्डाँडाकी स्थानीय शिबमायाँ श्रेष्ठ बताउँछिन् । ‘पुरुषहरु सबै शहर र विदेश कुद्छन्,यहाँ भएका पनि जोत्न मान्दैनन् तर अब यो ट्याक्टरले जोत्यो भने राम्रो हुने रहेछ’ उनले भनिन् ‘गाउँमा हलि नै भेटिँदैनन् बल्ल–बल्ल भेटिएपनि ज्याला बढि दिनुपर्छ ।’ शिबमायाँले भनेजस्तो समस्या जिल्ला भर नै छ ।
कतिपय गाउँका महिलाहरुले त पुरुष पलायन हुनथालेसँगै हलि नपाएका कारण आफैं खेतबारी जोत्ने पनि गरेका छन् । मानेभञ्ज्याङ्ग गाउँपालिकाका प्रमुख मोेतिराज राईले गाउँपालिकालाई समृद्ध बनाउन प्रविधिको प्रयोगमा जोड दिईने बताए ।
हात्ते ट्याक्टरको माग बढ्दो
कृषिमा काम गर्ने कामदारको अभाव हुन थालेसँगै जिल्लामा हात्ते ट्याक्टरको माग बढेको छ । कम खर्चिलो र जनशक्ती पनि धेरै नचाहिने भएकाले यसको माग बढेको जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाका बरिष्ठ जिल्ला कृषि विकास अधिकृत झलकनाथ कँडेलले बताए । ‘कृषकको माग र आवश्यकताका आधारमा हामीले मिनिटिलर वितरण गरेका छौं’उनले भने ‘माग बढ्दो छ,सायद यसको प्रभावकारीता राम्रो भएरै होला ।’ खेतबारी जोत्न प्रयोग गरिने ठुलो ट्याक्टरलाई पावरटिलर र सानो ट्याक्टरलाई मिनिटिलर भनिन्छ । ओखलढुंगामा जिल्ला कृषि विकास कार्यालयले हाल सम्म ३५ वटा मिनिटिलर कृषक समुह मार्फत किसानहरुलाई उपलब्ध गराएको छ । कतिपय गाउँमा स्थानीयले आफैं पावरटिलर ल्याएर प्रयोग गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया

समुदायमा सांसद : यज्ञराज सुनुवार र उनैका मतदाताबिच खराे बहस सुन्नुहाेस् Download Listen
बाढी पहिराे राेकाैं Download Listen
बालविवाह राेकाैं Download Listen