- एसबी जेराे

तिम्रै सुन्दर हरियालीमा

तिम्रै शीतल वक्षस्थलमा

यो कविको शैशवकाल बित्यो

हाँस्यो खेल्यो वन–कुञ्ज घुम्यो

मेरो प्यारो ओखलढुंगा !

यी युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको मेरो प्यारो ओखलढुंगा शीर्षक कविताका केहि हरफ हुन् । कवितामा युगकवि श्रेष्ठले ओखलढुंगाको सौन्दर्यताको वर्णन गरेका छन् । यो कविताले ओखलढुंगालाई विश्व सामु चिनाउन ठुलो भुमिका खेलेको छ । जसरी यो कविताले ओखलढुंगाको पहिचान बयान छ, त्यो भन्दा कम भुमिका खेलेको छैन ओखलढुंगालाई चिनाउन ओखल आकारमा रहेको ढुंगा वरिपरिको ढुंगे गाह्रोले ।

नेपाल एकिकरण ताका भीम मल्लले ओखलजस्तो गहिरो खोपिल्टो परेको ढुंगामा मुसलको सहायताले धान कुटी खाएकाले यहाँको नाम ओखलढुंगा रहन गएको भन्ने भनाइ प्रचलित छ । ओखलढुंगाको इतिहासबारे स्थानीय जानकारहरुका अनुसार करिब चार सय वर्ष अगाडि काजी भीम मल्ल चीनबाट आफ्ना फौजसहित नेपाल आईपुगेका बेला गाउँबाट धान उठाएर ल्याएको र ओखल जस्तो गहिरो खोपिल्टो परेको ढुंगामा धान कुटि खाएकाले ओखलढुंगा भन्न थालिएको हो ।

त्यही ऐतिहासिक ओखलढुंगालाई संरक्षण गर्न बाहिरबाट झट्ट हेर्दा ओखल जस्तै देखिने ढुंगाको गारो लगाईएको छ । यो सिद्धिचरण पार्कमा छ । युगकवि सिद्धिचरण श्रेष्ठको शालिकको ठिक सामुन्ने ओखल आकारको ढुंगे गाह्रो छ । युगकवि श्रेष्ठले रात दिन त्यही ओखलढुंगा र ढुंगे गाह्रोलाई हेरेर बसि बसिरहेका छन्, जस्तो लाग्छ ।

ओखलढुंगा घुम्न आउने पर्यटकहरुले त्यही ओखल आकारमा निर्माण भएको गारोलाई अवलोकन गर्छन् । आफ्नो क्यामेरामा कैद पनि गर्छन् । ओखलढुंगाका बारेमा लेखिएको पाठ्य पुस्तक तथा जिल्ला चिनारीका रुपमा यो ओखल आकारमा निर्माण गरिएको ढुंगे गाह्रोलाई बढि प्रयोग गरिएको पाईन्छ ।

उक्त ओखल आकारको ढुंगाको गाह्रो हालको ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका वडा नम्बर १२ मा सिद्धिचरण पार्कसँगै जोसुकैले अवलोकन गर्न सक्ने गरी अवस्थित छ । ओखलढुंगा सदरमुकाम आईपुगेका धेरैको मन यसले लोभ्याउने गर्छ ।

संसारमा ओखलढुंगा जिल्लाको चिनारीका रुपमा यसले ठुलो भुमिका खेलेको छ । साथै ऐतिहासिक ओखलढुंगालाई अवलोकन गर्न आउने पर्यटकहरुलाई मनमोहक बनाउछ । ओखलढु्ंगा सदरमुकाममा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि ओखल आकारको ढुंगेगाह्रो मुख्य आकर्षण बनेको छ । गुगल, ईन्टरनेट, पाठ्यपुस्क, पम्प्लेट तथा ओखलढुुंगाको लोगोहरुमा धेरै प्रयोग हुने ओलख आकारको ढुंगे गाह्रोको डिजाईन कसले गरेका हुन् भन्ने बारेमा कमैलाई थाहा छ ।

यो ओखल जस्तै देखिने ढुंगे गाह्रोको डिजाइनर ईञ्जिनियर तिलक बहादुर श्रेष्ठ हुन् । तत्कालीन ओखलढुंगा गाविसले बनाएको ओखल आकारको ढुंगे गाह्रोको डिजाईन ईञ्जिनियर तिलकबहादुर श्रेष्ठले गरेका हुन् । आर्थिक वर्ष २०५५÷२०५६ सालमा ओखलढुंगा गाविसको करिब एक लाख भन्दा बढी बजेटमा ऐतिहासिक ओखलढुंगालाई संरक्षण गर्ने गरी ओखल आकारको ढुंगे गारोको निर्माण गरिएको तत्कालीन गाविस अध्यक्ष तथा अहिलेको सिद्धिचरण नगरपालिका प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

डिजाइनर श्रेष्ठका अनुसार बिना पारिश्रमिक हप्ता दिन लगाएर ओखल आकारको ढुंगे गाह्रोको डिजाइन निकालेको बताए । उनले भने “डिजाईन गर्ने प्रस्ताव आयो मैले एक हप्ता सोचेर ग्राफ तयार पारेको हुँ । यो कुरा धेरैलाई थाहा छैन ।” ओखल आकारको ढुंगेगाह्रो बनाउनु भन्दा पहिले ऐतिहासिक ओखलढुंगा वरिपरि सामान्य गोलाकार गाह्रो लगाई राखिएको उनको भनाइ छ । “अहिले मैले बनाएको डिजाईन धेरै तिर प्रयोग गरिएको पाउँछु मलाई गर्व लाग्छ” डिजाईन श्रेष्ठले भने “तर यो मेरो डिजाईन हो भनेर धेरैलाई थाहा छैन, मलाई मात्र थाहा छ ।” ओखल आकारको ढुंगे गाह्रोको माथि ऐतिहासिक ओखलढुंगाको वरिपरि फूल रोप्ने योजना थियो, त्यो अझै पुरा नभएको उनले सुनाए ।

सिद्धिचरण नगरपालिका प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार ओखल आकारको ढुंगे गाह्रोले ओखलढुंगामा पर्यटकलाई भित्र्याउन महत्वपुर्ण भुमिका खेलेको छ । उनले भने “यसको थप व्यवस्थापनमा नगरपालिका लाग्ने छ” । “ऐतिहासिक ओखलढुंगा लाई संरक्षण गर्ने गरी बनाईएको ओखल अकारको ढुंगे गाह्रोको डिजाइनरको नाम त्यो समयमा कतै उल्लेख गर्न पाएको भए राम्रो हुने रहेछ” नगर प्रमुख श्रेष्ठले भने । डिजाईनर तिलक श्रेष्ठको नाम कतै उल्लेख भएको पाईदैन ।

ओखलढुंगा जिल्लाको ऐतिहासिक सम्पदा भएकाले यसको संरक्षण गर्न सबैको दायित्व रहेको डिजाईनर तिलकबहादुर श्रेष्ठले बताए । श्रेष्ठ जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनियर पनि हुन् ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen