- पूर्णप्रसाद न्याैपाने
पूर्णप्रसाद न्याैपाने

अाेखलढुंगा- अाज  रङको पर्व अर्थात् होली अथवा फागुपूर्णिमा मनाइँदै छ । यस अवसरमा वर्षमा एक दिन भने पनि मानिसहरूले रङमार्फत खुसी साटासाट गर्छन् र जीवनका अँध्यारा पक्षलाई भुल्ने कोसिस गर्छन् । प्रकृतिमा सिर्जना भएका चराचुरुंगीको रङ, फूल, रूखबिरुवाको रङ, हिमाल, पहाडको रङ, किराफट्यांग्राको अनेक रङ हामीले ख्याल गरेका छौं । हरिया, राता, नीला, वैजनी, पहेंलामात्रै होइन, हामीले उल्लेख गर्ने रङभन्दा धेरै रङ भेटिन्छन् प्रकृतिमा । यसको अर्थ, रङ हाम्रो जीवनसँग सीधै जोडिएको हुन्छ । जीवनको रङ र अध्यात्मको सम्व्न्ध त्यसरी नै जोडिएको छ जसले हरेक रङमार्फत प्रकृति र प्रेमको अभिव्यक्ति दिन्छन् ।
हाम्रो शरीरमा जसरी सात चक्र छन् र ती चक्रको प्रभाव सात रङसँग छ, त्यसरी नै होलीमा खेलिने रङले उस्तै वैज्ञानिक र आध्यात्मिक महत्व राख्छन् । रातो रङ प्रेम, शक्ति र साहसको प्रतीक हो । त्यस्तै, सेतो पवित्रताको, हरियो प्रकृति र आत्मीयताको, पहेंलो वैद्धिकता र सादगीपनाको, नीलो शान्तिको प्रतीक, सुन्तले रङ रचनात्मक शक्तिको, वैजनी होस र ध्यानको प्रतीकको रूपमा अर्थ लगाइन्छ । त्यसैले जीवन, जगत् र पदार्थसँग रङहरूको प्रभाव सँगसँगै रहन्छ ।

 

संसारको वहिर देखिन्छ भौतिक रङ । रङलाई हामी फूलसँग कल्पना गर्न सक्छौं। यसलाई आँखाले हेरेर आनन्द लिन्छौं, तर त्यसको सुगन्धले हामीलाई एक सेकेन्ड भने पनि आँखा चिम्लिन वध्य बनाउँछ, भित्री रङको अनुभूति दिलाउँछ किनकि गहिराइ या भित्र हुन्छ सुगन्ध । त्यो अदृश्य पाटो नै अध्यात्म हो, प्रेम हो र पूर्णता हो । वाहिर जे कुराले आनन्द दिन्छ, त्यसलाई पूर्णतासाथ ग्रहण गर्न कसले रोक्न सक्छ र ? त्यसको साथसाथ भित्री आनन्द केमा छ त्यसप्रति पनि ध्यान दिन सकेमात्र जीवन प्रेमपूर्ण र पूर्णताले भरिएको अनुभूति हुन्छ । त्यसो हुँदा खुसी, आनन्द र प्रेमपूर्ण जीवन जिउन के कस्ता रङहरू आवश्यक छन, त्यो थाहा पाउनुपर्छ ।
प्रेम, करुणा, मित्रता, धन्यवाद र शान्तिका रङविना जीवन आनन्दित र सफल नभएको हामीले वरवर महसुस गर्दै आएका कुरा हुन् । हामी मानिस भएकै कारण हृदय अर्थात् भावनाको तलमा हुने गर्छौं । हृदयको तलमा हुने एकमात्र उपाय हो नकारात्मकतालाई बेवास्ता गर्ने, जसरी अन्धकारलाई हटाउन दीप जलाउनुपर्छ त्यसैगरी नकारात्मकतालाई हटाउन सकारात्मक भावको विकास हुनुपर्छ । जहाँ सकारात्मक भाव छ त्यहाँ प्रेम छ । त्यही प्रेमरूपी रङले आफ्नो र अरूको पनि जीवन रंगाउन सक्नुपर्छ ।


वस्तुका रङको मौलिक महत्व भएजस्तै मानिसलाईं पनि रङकै आधारमा व्यवहार नगरिनेचाहिँ होइन । तर, गज्जव्को कुरा ः मानिसको शरीरको रङ फरक फरक भए पनि मुटु र रगत उस्तै रङको छ सबैको । अस्तित्वले भित्री संरचना उस्तै दिएको छ सबै मानिसलाई । र, पनि मानिस धनको रङ, पदको रङ, सम्मानको रङ, क्रोधको रङ, मोह र लोभ आदि रङमा आफूलाई परिचित गराउन खोज्दा कहिले सुखी त कहिले दुःखी बन्छ । वास्तवमा प्रेम र करुणाको रङमा जिउन सके सुख र दुःखभन्दा पर आनन्दको जीवन जिउन सकिन्छ । त्यतिमात्र कहाँ हो र ? मानिस आफ्नै साथीभाइ र इष्टमित्रसँग खुलेर कमजोरी स्वीकार गर्न र माप माग्न सक्दैन ।
होलीले यसलाई प्रतीकात्मक रूपमा सहज व्नाइदिएको छ । होलीको रङ साटासाट गरेर एकअर्काको कुण्ठा समाप्त गर्न र प्रेम र सद्भाव वृद्धि गर्ने एउटा अवसर होलीले दिएको छ । व्यस्तमात्र होइन, अस्तव्यस्त जीवन जिइरहेको मानिसलाई खुसीको रंगमा एक दिन भए पनि मस्त हुने अवसर हो होली । वर्षभरिका तनाव रंगमार्फत फ्याक्ने अवसर हो होली । तराई र पहाडमा गरेर दुई दिन मनाइने होली कुनै रङ, जात, वर्णमात्र नभई सम्पूर्ण मानव समुदायको साझा पर्वका रूपमा बुझ्दा हुन्छ । पर्वको व्हानामा प्रेमभाव साटासाट गर्ने र शुभकामना व्यक्त गर्ने अवसर हो होली ।कसैलाई जवर्जस्ती नगरी स्वेच्छाले र हर्ष भावले मनाइने वसन्त उत्सव हो होली ।
कुनै पनि प्रकारको उच्छृंखलता देखाउने र कसैलाई कर लगाएर खेलिने पर्व होइन होली। जीवनलाई कुण्ठा र तनावरहित बनाउने र वसन्त ऋतुजस्तै सधैं शान्त, शीतल र आनन्दको जीवन अनुभूति गर्ने मूल सन्देश हो होलीको । आनन्द प्राप्त गर्न ठूलै व्यापार, व्यवसाय गरी धन वा पद हासिल गर्नु पर्दैन । आफूसँग जे छ त्यसैमा रमाउन सके, जे प्राप्त छ त्यसैलाई स्वीकार गर्न सके जीवनको मूल आनन्द मिल्छ । सुख र दुःख त हामीले गर्ने वहिरी कर्म र त्यसवट प्राप्त फलको अनुभूति हो भने स्वीकार भाव हो आनन्द । स्वीकार भावमा रहने कला नजान्दासम्म सुख र दुःखका कथावट मुक्ति पाइन्न न त आफूभित्र शान्ति नै घटित हुन्छ ।
धेरैजसो मानिसमा आफूलाई सहयोग गर्नेप्रति धन्यवाद प्रकट गर्ने चलन नै पाइँदैन । आफ्नो जीवनपथलाई सहज बनाइदिने तिनीहरूप्रति धन्यवादले भरिने र प्रकट गर्ने वनी थोरै मान्छेमा मात्र भेटिन्छ अचेल । जो संगत गर्न लायक छन्, जसको प्रेरणाले हामीलाई सकारात्मक ऊर्जा मिलेको छ ती सबैप्रति धन्यवाद र अहोभाव प्रकट गर्ने गुण हामीले जन्मजात पाएका छौं तर कमैमात्र यसलाई व्यवहारमा प्रस्तुत गरेका हुन्छौं हामीले । ती सज्जन, आत्मीय र सद्गुणले भरिएका आफन्त र मित्रहरूप्रति अहोभाव व्यक्त गर्ने बानीले हाम्रो भित्री स्वभावमा सकारात्मक परिवर्तन विकास ल्याउँछ ।
सुखदुःख जीवनका बाहिरी रङ हुन् । यी रङ आउने जाने भइरहन्छन् भने आनन्द भित्री रङ हो । यो सधैं मानिसभित्र विराजमान छ । यसको अनुभूति गर्ने र यसकै रङमा डुब्ने कला जानेमा दुःखका रङले जीवनमा स्थान लिन पाउँदैनन् । करुणा र कल्याणकारी भाव राख्दै मित्रता कायम राख्न सक्नु अर्को महत्वपूर्ण पक्ष हो । मित्रतालाई परमात्माको दोस्रो द्वार भन्छन् ओशो रजनीश । जसले मैत्रीभाव अर्थात् मित्रता कायम गर्न जान्दैन, उसले आफ्नो जीवनलाई समेत प्रेमपूर्ण राख्न सक्दैन भने अरूलाई प्रेमपूर्ण बनाउने कला त परै जाओस् । करुणापछिको भाव हो मैत्री । करुणा बादलभित्र लुकेर रहेको पानी हो भने मैत्री बादल छेडेर प्रस्फुटन हुने बर्सात हो, जसले सारा जमिन र बोटवृक्षलाई सिञ्चित गर्छ। हृदयमा भरिएको करुणा मैत्रीमा रूपान्तरण नहुन्जेल त्यो सार्थक हुन्न किनकि मैत्री अभिव्यक्ति हो ।
करुणा अप्रकट रूप हो भने मैत्री प्रकट । मित्रता प्रकट हुनासाथ शत्रुता आफैं तिरोहित हुन्छ । मैत्रीभाव जगाउने काममा आफ्नो ऊर्जा लगाउनासाथ शत्रुता टिक्न पाउँदैन । जहाँ मैत्रीभाव रहन्छ, त्यहाँ ईष्र्या र द्वेषले स्थान पाउन सक्दैन । ईष्र्या र द्वेषले प्रतिशोधको भावना विकास गराउँछ भने मैत्रीले प्रेमको भावना ।
जहाँ मैत्रीभाव छ, त्यहाँ प्रेम छ, जहाँ प्रेमको अनुभूति छ त्यही जीवन सुन्दर हुन्छ । जीवनमा प्रेम चाहनेले मैत्रीभाव कायम राख्ने कला जान्नु जरुरी छ ।
होली मनाऔं– रङ मार्फत प्रेम फैलाऊँ

तपाईको प्रतिक्रिया

अागलागी र बाढी पहिराे राेकाैं Download Listen
बालविवाह नगराैं / नगराअाैं Download Listen
जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen