- भिजन समाचार

ओखलढुंगा- ओखलढुंगाको मोलुङ गाउँपालिका ५ श्रीचौर स्थित श्री जंग आधारभुत विद्यालय बन्दहुने अवस्थामा पुगेको छ । प्रध्यानाध्यापक रामप्रसाद नेपालको असक्षमताका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको हो ।
गत वर्ष सम्म मात्रै पनि कक्षा ८ सम्म पठनपाठन भईरहेको जंग आधारभुत विद्यालय अहिले कक्षा ३ मा झरेको छ । ‘प्रअ रामप्रसाद रचनात्मक भएनन्,युग सुहाउँदो शिक्षाका लागि विद्याालयमा पहल भएन भनेर हामीले प्रअ फेर्न पटक पटक आग्रह गरेको तर कसैले टेरेनन् ।’ नाम नबताउने सर्तमा एक अभिभावकले भन्नुभयो,‘कुखुरालाई खोरमा थुने जस्तो दिनभर कक्षा कोठा थुन्न मात्रै छोराछोरी विद्यालय पठाउने कुरा भएन,हामीले नानिहरु अर्कै स्कूलमा पठायौं ।’ स्थानीय बालबालिका सबै प्राप्चा स्थित शिवदुती माविमा जान थालेपछि जंग आधारभुत विद्यालय अहिले विद्यार्थी अभावकै कारण बन्दहुने अवस्थामा पुगेको हो । दरबन्दिका ४ जना र बालविकासका १ गरी ५ जना शिक्षक कार्यरत रहेको जंग निमाविमा अहिले दैनिक १२ जना भन्दा बढि विद्यार्थी नै नआउने गरेको पाईएको छ ।
प्रअ नेपाल गैरजिम्मेवार बनेकै कारण विद्यालयको अस्थित्व नै समाप्त हुने अवस्थामा पुगेको स्थानीयको आरोप छ । पछिल्लो समय जिल्ला शिक्षा अधिकारी सहितका सरोकारवालाहरु विद्यालय अनुगमनमा पुग्दा समेत प्रअ नेपाल गैरजिम्मेवार रुपमा प्रस्तुत भएका थिए । विद्यालय दिउँसै बन्द गर्नुभएछ खै विद्यार्थी ? किन विद्यालय समयभर नखुलाएको ? भन्ने अनुगमन टोलीको जिज्ञासामा प्रअ नेपालले गैरजिम्मेवार शैलीमा भनेका थिए ‘विद्यार्थी किन विद्यालय आएनन् उनिहरुलाई नै सोध्नुस्,शिक्षकहरु किन विद्यालय आएनन् मलाई जानकारी छैन,विद्यार्थी नै आएनन् शिक्षक पनि छैनन् अनि विद्यालय बन्द गरियो ।’ प्रअको यस्तो जवाफ सुनेपछि जिल्ला शिक्षा अधिकारी बालकृष्ण चापागाईंले तत्काल जिल्ला शिक्षा कार्यालयमा आएर लिखित स्पष्टिकरण दिन निर्देशन दिनुभएको थियो । जिल्ला शिक्षा कार्यालयले विदा स्विकृत नहुँदै विदामा बस्ने सबै शिक्षक र विद्यालय सञ्चालन गर्न नसक्ने प्रअलाई एक साता भित्र चित्त बुझ्दो गरी लिखित स्पष्टिकरण सहितको जवाफ दिन निर्देशन दिएको छ । जवाफ चित्त बुझ्दो नआए नियम अनुसार कारबाही गर्ने कार्यालयले चेतावनी दिएको छ ।

संसादकै कारण समस्या भएको स्थानीयको आरोप 

बन्द हुने अवस्थामा रहेको जंग आधारभुत विद्यालय सांसद यज्ञराज सुनुवारको घर नजिकै रहेको विद्यालय हो । सांसद सुनुवारकै जिजुहजुरबुबा जंगबहादुर सुनुवारको नामबाट उक्त विद्यालयको नाम श्री जंग आधारभुत राखिएको थियो । सांसद सुनुवारकै कारण विद्यालय बन्दहुने अवस्थामा पुगेको स्थानीयको आरोप छ । ‘प्रअ रामप्रसाद सँग सांसद यज्ञराज बाहेक कोही खुसी छैनन्,सांसदले प्रअलाई संरक्षण गरेकै कारण उनलाई प्रअबाट हटाउन सकिएन,अब त विद्यालय बन्द नै भयो भन्दा पनि हुन्छ ।’ नाम नबताउने सर्त राख्दै लिस्पुका एक नेताले भने‘अरु ठाँउका नेता पहुँचमा पुग्दा विकास हुने गरेको देखेको छु, तर हाम्रा ठाउँका नेता पहुँचमा पुग्दा विनास भयो,यो विद्यालय बन्द हुनु भनेको पहिलो कमजोरी प्रअको छ,उनले नेतृत्व गर्न सकेनन,अर्को गल्ती माननीयको छ संधै संरक्षण गरे,उनिहरुकै कारण हाम्रा छोराछोरी घरछेउमा पढ्ने अवस्था रहेन ।’ प्रअ नेपाल एमाले निकट मानिन्छन् । उनि एमाले भएकै कारण अहिले सम्म प्रअ भईरहेको र उनि प्रअ भईरहेकै कारण विद्यालय बन्दहुने अवस्थामा पुगेको स्थानीयको आरोप छ । सांसद सुनुवारले पनि विद्यालयको विग्रंदो अवस्थाका बारेमा चिन्ता व्यक्त गर्ने गरेको भएपनि आफ्नै करेसाको विद्यालय व्यवस्थापनमा पहल गर्न नसकेको सरोकारवालाहरुले बताउने गरेका छन् ।
जंग आधारभुत विद्यालयको पठनपाठन राम्रो नभएको विषयमा पटक पटक जिल्ला शिक्षा कार्यालयमा छलफल समेत हुने गरेको भएपनि निकास दिन नसकेका कारण समस्या देखिएको स्रोतव्यक्ति एकराज कट्वालले बताउनुभयो । उहाँले भन्नुभयो ‘स्रोतव्यक्ति साथीहरुले प्रअका कारण विद्यालय चल्न नसक्ने अवस्थामा पुगेको भन्दै पटक पटक यस विषयमा कुरा उठाउनु भएको थियो,अहिले विद्यालयको अवस्थाका विषयमा सुन्दा दुख लाग्यो ।’
स्थानीयका अनुसार विगतमा स्रोत व्यक्तिहरुले अलि बढि ताकेता गरेर प्रअलाई जिम्मेवार बनाएको भएपनि पछिल्लो समय स्रोत व्यक्तिले पनि निरन्तर ताकेता गर्न छाडेपछि ८ सम्म सञ्चालन भईरहेको विद्यालय ३ कक्षा मा झरेको हो । प्रअ अर्को राखेर गुणात्मक शिक्षा आर्जन गर्ने वातावरण सिर्जना गर्न माग गर्दै स्थानीयले आफुहरुका सन्ततीलाई घर नजिकैको विद्यालयमा पढ्ने वातावरण मिलाईदिन आग्रह गरेका छन् ।
यता जिल्ला शिक्षा कार्यालयले स्पष्टिकरण सोधेपछि प्रअ नेपाल विद्यालयको अवस्था सुधार गर्न भन्दा पनि जागिर जोगाउन लागि परेका छन् । विद्यार्थी अभावकै कारण जिल्लाका अधिकांश विद्यालय बन्दहुने अवस्थामा पुगेका छन् ।

तपाईको प्रतिक्रिया

जनहितमा जारी सन्देश : दशै‌ंमा जुवा तास नखेलौं Download Listen
audio 3 Download Listen
audio 2 Download Listen
asudio 1 Download Listen